Logo

अर्थनीति

राष्ट्रिय बिमा संस्थानको मुद्धती निक्षेपमा ३० अर्ब, डिबेञ्चरमा ५ अर्ब लगानी


GDP Nepal
   ११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थान ५६ औं वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएको उल्लेख गर्दै भने, “यो स्थापनाको कालमा संस्थान एक्लै थियो सिधै हिँडे पुग्थ्यो । अहिले समय फेरिएको छ । दायाँ बायाँ प्रतिष्प्रधीहरुसँग प्रतिष्प्रर्धा गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । यो प्रतिष्पर्धा गर्ने सन्दर्भमा राष्ट्रिय बिमा संस्थानले सामथ्र्य राख्छ र राख्नुपर्छ ।”

सरकारी विद्यालयहरुले राम्रो ख्याती कमाउन थालेको बेलामा बिमा क्षेत्रले पनि त्यसलाई आत्मसात गर्नुपर्नेमा उनले जोड दिए । “बिमा संस्थानले लामो इतिहास बोकेको छ । अहिलेको अवस्थामा बिमा संस्थान एक्लो छैन् । प्रतिस्पर्धीहरु बढेका छन् । अब बिमा संस्थानले दायाँ बायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ,” उनले भने ।

बिमा क्षेत्रमा विश्वास गुमाइसकेपछि काम नलाग्ने भन्दै उनले विश्वासमात्रै नभई आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न संस्थानलाई आग्रह गरे । बिमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै संस्थानले निराश हुनुभन्दा पनि प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

अहिले समग्र बिमा क्षेत्रमा विभिन्न नयाँ नयाँ प्रवृतिहरु आएकोतर्फ ध्यानाकर्षण गराउँदै सचिव घिमिरेले भने, “नयाँ नयाँ जोखिमका प्रकारहरु आएका छन् । जसलाई समयमै बुझ्न र पहिचान गर्न सकेनौं भने हामी अगाडि बढ्न सक्दैनौं ।”

बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले संस्थान नेपालको वित्तीय क्षेत्रकै धरोहर भएको भन्दै बिमा बजारमा मानव संशाधन उत्पादनदेखि बजारीकरणमा समेत योगदान पु¥याएको दावी गरे । संकटका बेला सहयोग गर्ने भनेको सरकारी संस्था नै भएको भन्दै उनले भने, “जसरी रेडियो नेपाल र नेपाल टेलिकमले भूकम्पका बेलामा जनतालाई सहयोग गरेका थिए । त्यो बेला निजी क्षेत्रका कोही आएनन् । त्यसैले कुनैबेला नेपालको राम्रो संस्थानको साख बनाएको बिमा संस्थानले फेरी एकपटक पुरानो साख कायम गर्ने बेला आएको छ ।”

संस्थानको लामोसमयदेखिको लेखापरीक्षणको समस्यालाई सुल्झाउनका लागि प्राधिकरण तयार रहेको उनको भनाई थियो ।

संस्थानका अध्यक्ष इश्वर पौडेलले संस्थानका समस्या र चुनौतिका सवालमा अर्को वार्षिकोत्सवमा हामी धेरै माथि उठ्यौं भन्ने अवस्था सिर्जना हुने बताए । पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको उनको भनाइ छ । बिमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेतापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उनले बताए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थान स्थापनाको ५६ औ वर्षमा प्रवेश गरिरहँदा मुलुकमा स्थापित जीवन बिमा कम्पनीहरुसंग प्रतिस्पर्धा गर्दै यसले आफ्नो पहिचानलाई थप मजबुत गराउँदै लगेको बताए । “चालू आर्थिक वर्षको पौष मसान्त सम्ममा संस्थानले छ अर्ब १५ करोड बिमााशुल्क संकलन गरेको छ भने १ अर्ब ५८ करोड दाबी भुक्तानी गरेको छ । यस अवधिमा संस्थानको जीवन बिमा कोष ४५ अर्ब ९१ करोड पुगेको छ ।

संस्थानको हाल कुल सक्रिय बिमालेख संख्या ५ लाख ६० हजार रहेको छ,” उनले भने, “सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरुमा आफ्नो श्रोतको उपयोग गर्ने सिलसिलामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख शेयर पूँजी लगानी रहेको छ भने ऋण लगानी २ अर्व ८० करोड गरेकोमा ब्याज पूँजीकरण सहित हाल ४ अर्ब ८८ करोड रहेको छ ।”

हाल यो लगानीको व्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको जनाइएको छ । जलविद्यूत लगानी तथा विकास कम्पनी लि.मा १ अर्व शेयर लगानी गरिएको जानकारी दिँदै उनले विद्यूत उत्पादन कम्पनी लि.मा ६ करोड ६० लाखको संस्थापक शेयर लगानी गरिएको बताए ।

नागरिक लगानी कोषमा कुल शेयर पूँजी मध्ये संस्थानको ३१.५ प्रतिशत स्वामित्व रहेको छ । यसको अतिरिक्त सनराइज बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., लक्ष्मी बैंक लि., ग्लोबल आईएमइ बैंक लि., एन आई सी एशिया बैंक लि. तथा नेपाल पुनर्बीमा कम्पनी लि. जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर रहेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ३० अर्ब २० करोड तथा डिबेञ्चरमा ५ अर्ब १० करोड लगानी रहेको छ । यस अवधिमा लगानीबाट संस्थानले १ अर्ब ८६ करोड आम्दानी गरेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह