अमेरिकाको सिलिकन भ्याली बैंक ४८ घण्टा भित्रै टाट पल्टिएको छ । पूँजी संकटका कारण अमेरिकी इतिहासमा वित्तिय संस्थातर्फको यो दोस्रो ठूलो असफलता हो ।
लगानीकर्तालाई रकम फिर्ता गर्न नसकेपछि हाल यो बैंक यूएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन एफडीआईसीको नियन्त्रणमा छ । रिसीभरको रुपमा काम गरिरहेको एफडीआईसीले ग्राहक, डिपोजिटकर्ता र ऋणदाताको पैसा तिर्न बैंकको सम्पत्ति बिक्रि गर्नेछ ।
बैंक निक्षेपको बीमा र वित्तिय संस्थाहरुको निरिक्षण गर्ने स्वतन्त्र सरकारी एजेन्सी एफडीआईसीले सबै बीमित निक्षेपकर्ताले सोमबार बिहान भन्दा अघि आफ्नो बीमा गरिएको निक्षेपहरूमा पूर्ण पहुँच पाउने बताएको छ । एफडीआईले असुरक्षित निक्षेपकर्ताहरूलाई अर्को हप्ता भित्र अग्रिम लाभांश तिर्ने बताएको छ।
बैंकले बुधबार आफ्ना केही सेक्युरिटी घाटामा बेचेको र खाता सन्तुलनमा ल्याउन थप २.२५ अर्ब डलरको सेयर बेच्ने घोषणा गरेसँगै लगानीकर्ताबीच आतंक पैदा भएको थियो । सो खबर बाहिरिएसँगै केही प्रमुख उद्यम पूँजी फर्मले लगानीकर्तालाई बैंकबाट आफ्नो पैसा फिर्ता लिन सल्लाह समेत दिएका थिए ।
१९८३ मा स्थापना भएको यस बैंकले आफ्नो अधिकांश बचत रकम सेयर बजारमा लगानी गरेको देखिन्छ । पछिल्लो महिना मात्रै बैंकको सेयर मूल्यमा ६६ प्रतिशतको गिरावट आएको थियो । सेयरको मूल्यमा भारी गिराव आएसँगै बैंक संकटमा परेको देखिन्छ । यस बैँकले धेरैजसो उद्यम समर्थित प्रविधि कम्पनी र स्वास्थ्य सेवा कम्पनीहरुमा लगानी उपलब्ध गराएको छ।
प्रतिक्रिया