नेपाल उद्योग वाणिज्य महासंंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वार अन्जन क्षेष्ठले आफ्नो प्यानलको टुङ्गो लगाएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले महासंघको चैत २८ र २९ गते हुन लागेको निर्वाचनमा आफ्नो प्यानलको टुङ्गो लागेको जानकारी दिएका हुन् ।
श्रेष्ठको प्यानलबाट महासंघको वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गीले उम्मेद्वारी दिने भएका छन् । त्यस्तै, यसै प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेद्वारी दिने जनाइएको छ ।
हाल महासंघमा वस्तुगत तर्फबाट उपाध्यक्ष रहेका श्रेष्ठ नाडा अटोमावाइल एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् । यसका साथै उनी हुन्डाई मोटरका लागि नेपालको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का कार्यकारी निर्देशक हुन् ।
त्यस्तै, वस्तुगत उपाध्यक्षमा उम्मेद्वारी दिने भएका प्रधान हाल महासंघको कार्यकारीणी सदस्यका साथै निर्यात प्रवर्द्धन समितिको सभापति हुन् ।
श्रेष्ठ प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वारी दिने भएका सुमार्गी हाल महासंघमा कार्यकारिणी सदस्यका साथै कृषि उद्यम केन्द्रको सभापति छन् । उनी मकवानपुर उद्योग बाणिज्य संघको पूर्वअध्यक्ष समेत हुन् ।
यस्तै, एसोसिएट उपाध्यक्षमा उम्मेद्वारी दिने भएकी श्रेष्ठ मेरिगोल्ड ज्वेलरीकी सञ्चालक तथा नेपाल रत्न तथा आभुषण संघको अध्यक्ष समेत हुन् । उनी हाल महासंघमा कार्यकारिणी सदस्यका साथै पर्यटन समितिको सभापति पदमा रहेकी छन् ।
प्रतिक्रिया