काठमाडौं । नेपालमा अहिले बढी क्षमताका जलविद्युत्, सिँचाइ तथा खानेपानी आयोजनाका लागि सुरुङ निर्माण अपरिहार्य मानिन्छ । पहाडी क्षेत्रमा यातायातका लागि समेत सुरुङ उपयुक्त हुने विकल्प सुझाइँदैछन् ।
तर, नेपालमा सुरुङ निर्माणको इतिहास भने राज्य एकीकरणभन्दा पनि निकै पुरानो छ । विभिन्न अभिलेखहरुका अनुसार नेपालको पहिलो सुरुङ निर्माणको इतिहास अब ४ वर्ष पूरा भइसकेको छ ।
अभिलेखअनुसार ४ सय वर्षअघि पाल्पाको अर्गली सिँचाइ आयोजनाको लागि १.५ किलोमिटरको सुरुङ निर्माण गरिएको तथ्य फेला परेको हो । हाल यो सुरुङ सञ्चालनमा समेत छैन तर नेपालको पहिलो सुरुङ यसैलाई मान्ने गरिएको नेपाल टनेल एशोसिएसनले गरेको अध्ययनमा उल्लेख छ ।
पहिलो सुरुङ निर्माणपछि दोस्रोका लागि भने २ सय वर्ष कुर्नुपरेको पाइन्छ । सन् १९१७ मा मकवानपुरको चुरियामा सडकका लागि आधुनिक रुपमा सडकको सुरुङ निर्माण गरिएको थियो ।
नेपाल टनेल एसोसियसनका अनुसार उक्त सडक सुरुङ निर्माणका मुख्य इन्जिनियर तत्कालीन पूर्वी नेपालका गर्भनर गजलराज सिंह थापाका नाती डिल्लीजंग थापाले गरेका थिए ।
जलविद्युत् आयोजनामा निर्माण गरिएको एक मेगावाटको तिनाऊ जलविद्युत् आयोजनाको सुरुङ निर्माण भने ३० वर्षअघि सम्पन्न भएको थियो ।
पछिल्लो समयमा मेलम्ची खानेपानी आयोजनाको २७.५ किलोमिटर सुरुङको निर्माण सम्पन्न भएको छ ।
सन् १९८० मा ६० मेगावाटको कुलेखानी प्रथम, ६९ मेगावाटको मस्र्याङ्दी, ६० मेगावाटको खिम्ती–१, १५ मेगावाटको मोदी खोला, १४४ मेगावाटको कालीगण्डकी लगायतका जलविद्युत आयोजनामा पनि सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।
एसोसियसनका अनुसार पछिल्लो समयमा जलविद्युत्, सिँचाइलगायतका क्षेत्रका ४० आयोजनाले २ सय किलोमिटर बराबरको सुरुङ निर्माण गरिरहेका छन् । ४० मध्ये भेरीबबई बाहेकका ३९ सुरुङ निर्माण गरिरहेका आयोजना जलविद्युत्सँग सम्बन्धित छन् ।
निजी क्षेत्रले काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने घोषणा गरे पनि त्यो भने पूरा भएको छैन ।
प्रतिक्रिया