Logo

कर्पोरेट-बजार

रसुवाबाट १५ करोडको सामग्री चीन निर्यात


GDP नेपाल
   २१ चैत्र २०७९, मंगलबार


बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात भइसकेको छ । निर्यात भएका सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका सामग्रीसमेत छन् ।

उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो । यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ ।

आयात कमी हुँदा सामानका शुल्क बापतको राजस्व कमी भएको र अबका दिनमा केरुङबाट काठमाडौँसम्म नेपाली कन्टेनर सिधा आवतजावतको वातावरणले आयात सामग्रीको परिमाण बढ्न गई राजस्व बढ्ने आशा गरीएको छ ।

चीनबाट स्याउ, ओखर, अदुवा, लसुन जस्ता वस्तु आयातमा कमी हुँदै गएको बताइएको छ । जुत्ता, चप्पल, तयारी पोसाक, बच्चाका खेलौना, मोटरका पार्टपुर्जा, विद्युतीय कार, जिप, स्काभेटर, टिपर, थर्मस, रोल कपडा, इलेक्ट्रिक सामान, जलविद्युत् उत्पादनका उपकरणलगायत विविध सामग्री आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताउनुभयो ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह