काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको २०७३ सालमा भएको निर्वाचनमा नरेशलाल श्रेष्ठ गोलाप्रथाबाट बाहिरिए । नेपाल ऊनी तथा फेल्ट उद्योग संघ अध्यक्ष रहेका नरेशको महासंघ प्रवेशको पहिलो यात्रामा ब्रेक लाग्यो ।
उक्त निर्वाचनमा वस्तुगत तर्फ बराबर मत ल्याउने चारजनामा गोलाप्रथा गर्दा रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठ कार्यकारिणी सदस्यमा छानिए पनि खेमराज पन्त र नरेशलाल श्रेष्ठ गोलाप्रथाबाट बाहिरिए ।
कुरियर संघका तत्कालीन अध्यक्ष पन्तले त्यसपछि महासंघमा कुनै रुचि देखाएनन् भने नरेशलालले भने खुबै मेहनत गरे । चुनाव हारेलगत्तै सबैजसो वस्तुगत संघ अध्यक्षसँग वान् टू वान् लञ्च मिटिंग गरेर सम्बन्ध बढाएका नरेशलालले २०७६ र २०७९ को निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी बनेका छन् । उनले ९१ मत पाए ।
नरेशलाल यसबीचमा उनी फेल्ट संघबाट बाहिरिएर पुनः नेतृत्वमा आइसकेका छन् । उनी नेपाल निर्यात परिषदको पनि वेटिङ प्रेसिडेन्ट हुन् भने व्यवसायमा पनि उनले छलाङ मारेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकमा पनि उत्तिकै लोकप्रिय रहेका नरेश यसपटक दुवै प्यानलको रोजाइमा थिए ।
नरेशलाई आगामी कार्यकालका लागि वस्तुगततर्फ उपाध्यक्षको सशक्त उम्मेदवारका रुपमा हेरिएको छ ।
प्रतिक्रिया