Logo

Uncategorized

उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन


GDP नेपाल
   ३० चैत्र २०७९, बिहिबार


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३० गतेभित्र अनिवार्य स्वअनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो । उद्योगले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा नगरेको पाइएकोले सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताउनुभयो ।

प्रत्येक नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकलाई प्रभावकारी बनाउन उक्त गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ जारी गरेको र सोही कार्यविधिमा उद्योग तथा आयोजनाले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहेको उहाँको भनाइ थियोे ।

जिल्लामा उद्योग तथा कल कारखानाबाट उत्सर्जन भएको हानिकारक धुँवा र फोहर पानीले वरपरका बस्तीमा उच्च जोखिम बनाएको छ । नेपाल सरकारले स्थानीय तहलाई अनुगमनकारी निकायको रूपमा अधिकार दिएकामा स्थानीय तहले कडाइका साथ यसलाई नियमन गर्न नसक्दा उद्योगको मनपरी बढ्दै गएको हो ।

औद्योगिक फोहर, पानी र धुँवाले पश्चिम नवलपरासीका अधिकांश बस्ती औद्योगिक क्षेत्रजस्तो देखिन थालेकाले उक्त गाउँपालिकाले यस क्षेत्रमै पहिलो पटक उद्योगलाई स्वअनुगमन प्रतिवेदन पेस गर्न ताकेता गरेको हो । स्वअनुगमन प्रतिवेदनमा उद्योगले उत्सर्जन गर्ने हानिकारक धुँवा, फोहर पानी, कामदारले पिउने पानीको गुणस्तरका साथै ध्वनीको तह तथा आइइई प्रतिवेदनमा उल्लेख भएका कुरा पालना भए नभएको कुरा समावेश हुन्छ । प्रस्तावकले पेस गरेको प्रतिवेदनउपर शङ्का लागे गाउँपालिका स्वयंले अनुगमन गर्न सक्ने कानुनी प्रावधान छ ।

घर घरमै प्रारम्भिक चरणको उपचार सेवा

बर्दघाट–सुस्तापश्चिमको सुस्ता गाउँपालिकाअन्तर्गत गाउँका प्रत्येक टोलमा स्वास्थ्यकर्मीबाट घरदैलोमै प्रारम्भिक चरणको उपचार सेवा दिन थालिएको छ । चौधरी फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र एक अनमी उपलब्ध गराएकाले आवश्यकताअनुसार प्रत्येक वडाको प्रत्येक गाउँ–गाउँमा पुगेर नागरिकलाई प्रारम्भिक चरणको उपचार सेवा उपलब्ध गर्न थालिएको हो ।

फाउण्डेसनले आवश्यक जनशक्ति उपलब्ध गराएकाले प्रसूति सेन्टरका साथै आवश्यकताअनुसार नागरिकको घर घरमा पुगेर प्रारम्भिक चरणको उपचार सेवा दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा उद्योगपति विनोद चौधरीको पहलमा उक्त फाउण्डेसनले उक्त जनशक्ति उपलब्ध गराएको थियो । गाउँपालिका र फाउण्डेसनबीच भएको सम्झौताअनुसार फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र एक अनमीको खर्चका साथै प्रसूति सेन्टरमा आवश्यक उपकरण उपलब्ध गराएको थियो ।

सुस्ताको पक्लिहवास्थित प्रसूति केन्द्रबाट सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बताइएको छ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह