Logo

मुख्य समाचार

भौतिक पूर्वाधारमन्त्री भन्छन्- ६ महिनामा रेल र ५ वर्षमा पानीजहाज चलाउँछौं


appharu
   २१ चैत्र २०७४, बुधबार


जीडीपी नेपाल
काठमाडौं, २१ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन् । मन्त्री महासेठले बढिमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने बताए ।
‘प्रधानमन्त्रीले त दुई वर्षभित्र भन्नुभएको थियो, तर हामी बढिमा अबको ६ महिनाभित्रै निश्चित दुरीमा रेल कुदाउँछौं,’ उनले भने । उनले जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म पुर्याउने बताए ।
महासेठले पूर्व–पश्चिम रेलमार्गलाई पनि अघि बढाउने विश्वास दिलाए । मन्त्री महासेठले थपे,‘यसको लागि हामीले धेरै डिपिआर बनाईसकेका छौं, कामहरु धमाधम भैरहेका छन्, त्यस्तै उत्तरतिरबाट केरुङ र काठमाडौं, काठमाडौं र पोखरा र पोखरा र लुम्बिनी, हामी लुम्बिनीलाई केरुङ रुट र तराईबाट आउने रुटबाटपनि जोड्न चाहन्छौं, यदि त्यो मात्रैपनि जोड्न सक्यौं भने यसमा दुवै देश भारत र चीनलाई पनि फाईदा छ, नेपाललाई त हुने नै भयो।’
५ वर्षभित्रमा काठमाडौंवासीले रेल चढ्न पाउने उनले विश्वास दिलाए । उनले भने,‘हेर्नुहोस्, यो पाँच वर्ष त धेरै छोटो समय हो, जापानले बनाईदिएको सडक बनेपा–बर्दिवास १९८२ मा सुरु गरेको हो, तर २०१५ मा सम्पन्न भयो, हामीले त कम्तिमा पनि ५ वर्ष भनेर भनेका छौं, लुम्बिनीसम्म रेल पुर्याउन कम्तिमा पनि ५ वर्ष समय लाग्छ, त्यही भएर मैले यसो भनेको हुँ।’
मन्त्री महासेठले थपे,‘नेपालमा कुद्ने रेल भारतको रेल होईन, त्यो नेपालको रेल हुन्छ, नेपालमा कुद्छ, र आधुनिक रेल नै हामी कुदाउँछौं, तपाईहरुलाई भ्रम नहोस् कि रेलको नाममा जसरी पहिले चल्दैथियो त्यसलाई नै डेन्टपेन्ट गरेर होईन, हामी आधुनिक रेल नै चलाउँछौं।’
नेकपा एमालेका नेता समेत रहेका मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधिन रहेको हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको सुनाए । ‘यो राजमार्गको लागि हामीले ६ खण्ड छुट्टयाएका थियौं, त्यसमध्ये एक खण्डको काम करिब–करिब सम्पन्न भैसकेको छ, ७० कि.मि.को एउटै सेक्टरमा त करिब पीच नै भैसकेको छ, १५१ पुलमध्ये ५२ वटा पुल पूर्ण रुपमा बनिसकेको छ, ६० पुल पूर्ण हुने चरणमा छन्, बाँकी रहेका पुलहरु नर्माणको लागि डिजाईनको अन्तिम–अन्तिम फेजमा छन्।’
यो पाँच वर्षभित्रमा आफूहरुले सम्पूर्ण देशलाई रेलमार्ग र सडकमार्गबाट प्रत्येक गाउँ÷टोललाई जोड्ने उनको विश्वास थियो । उनले थपे,‘५ वर्षभित्रमा यो काम सम्पन्न गर्नेमा हामी विश्वस्त छौं, यसमा नेपाली जनताको पनि सहयोग भैरहेको छ, त्यस्तै सफ्ट लोनमा भारतबाट हामीले एक्जिट बैंकमार्फत भक्तपुर–नुवाकोट सडक र बालाजु–नुवाकोट सडक धेरै कामहरु भैरहेका छन्।’
उनले पानीजहाज चलाउनेबारे पनि होमवर्क भैरहेको सुनाए । उनले भने,‘पानीजहाजको बारेमा पनि होमवर्क सुरु छ, गंगा नदिलाई हामीले प्रयोग गरेर, नेपालको आफ्नो पोर्ट हामी बंगलादेशमा राख्न सक्छौं, भारतमा पनि राख्नसक्छौं, हामी लिजमा राख्नसक्छौं, जसरी जयनगरको रेल–वे स्टेशन छ, भारत सरकारसँग हामीले १०० वर्षको लिज लिएर चलाएका हौं, त्यस्तै भारत सरकारसँग हाम्रो द्धिपक्षीय सहमति भयो भने कुनैपनि ठाउँमा हामी आफ्नो पोर्ट बनाउन सक्छौं, त्यस्तै बंगलादेशसँग पनि सहमति भयो भने हामी बनाउन सक्छौं, हाम्रो नजिकमा अहिले दुई वटा छ, एउटा कोलकत्ता बन्दरगाहा र विशखापटन छ, त्यो भन्दापनि नजिक कहाँ छ, यो सरकारले ५ वर्षभित्र पानीजहाजको पनि व्यवस्था गर्छ, त्यो पनि नेपालको झण्डा राखेर र आफ्नो पोर्ट बनाएर सरकारले पानीजहाज चलाउँछौं, तपाईहरु ढुक्क हुनुहोस्,।’
मन्त्री महासेठले एमालेलाई भारत विरोधी भनेर गलत प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै भने,‘हामी कहिल्यैपनि भारत विरोधी होईनौं, हामी हाम्रो अखण्डता, राष्ट्रियता र सार्वभौमिकताप्रति आफ्नो अडानमा बसेका छौं, भारत सरकारले पनि हामीसँग पञ्चशील सिद्धान्तको आधारमा व्यवहार गरोस्।’

प्रकाशित : २१ चैत्र २०७४, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह