Logo

अर्थनीति

अमेरिकाद्वारा लगानीमैत्री वातावरण निर्माणमा नेपालले गरेका सुधारको प्रशंसा


GDP Nepal
   ७ जेष्ठ २०८०, आइतबार


काठमाडौं । संयुक्त राज्य अमेरिकाले लगानीमैत्री वातावरण निर्माणमा नेपालले गरेका सुधारको प्रशंसा गरेको छ ।

अमेरिकाले नेपालले गरेको सुधारसँगै निर्यात प्रवर्द्धन र अल्प विकसित मुलुकबाट दिगो स्तरोन्नतिका लागि नेपालका प्रयासहरुमा साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापार तथा लगानी कार्यढाँचा सम्झौता अन्तर्गतको व्यापार तथा लगानी परिषद (टिफा काउन्सिल) को छैटौं बैठकमा अमेरिकी पक्षले यस्तो धारणा राखेको हो ।

बैठकमा अमेरिकाले आगामी दिनमा द्विपक्षीय सहकार्य र साझेदारीलाई सघन बनाउँदै लैजाने र सातौं टिफा काउन्सिल बैठक संयुक्त राज्य अमेरिकाको वाशिंगटन डिसीमा सन् २०२४ मा आयोजना गर्ने सहमति पनि गरेको छ ।

बैठकमा व्यापार तथा लगानी कार्यढाँचा सम्झौताले समेटेका द्विपक्षीय व्यापार र लगानीसँग सम्बन्धित लगानीमैत्री वातावरण, डिजिटल अर्थतन्त्र, बौद्धिक सम्पत्ति संरक्षण र कार्यान्वयन, भन्सार र व्यापार सहजीकरण, कृषि व्यापार, बजार पहुँच र व्यापारका प्राविधिक अवरोधहरू, अति कम विकसित मुलुकको समूहबाट नेपालको दिगो स्तरोन्नति र नेपाल व्यापार ग्राह्यता कार्यक्रम को उपयोग लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपालले सन् २०२५ पश्चात समेत नेपाल व्यापार ग्राह्यता कार्यक्रमको निरन्तरता र निर्यात सम्भावना भएका वस्तुहरु थप गर्ने, उत्पादन क्षमता र निर्यात प्रवर्द्धनमा प्राविधिक सहायताको विस्तार गर्ने, सूचना प्रविधि सम्वद्ध सेवाको निर्यात र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा नेपालको उत्पादनलाई जोड्ने गरी लगानी र सहायतालाई परिचालन गर्ने विषयमा जोड दिएको थियो ।

शुक्रबार काठमाडौंमा सम्पन्न भएको उक्त बैठकको उदघाटन सत्रलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आगामी दिनमा व्यापार र लगानीका क्षेत्रमा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव मधुकुमार मरासिनी र संयुक्त राज्य अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चले सहअध्यक्षता गरेको वैठकमा दुवै देशका वाणिज्य, उद्योग, अर्थ, कृषि, कानुन, भन्सार र गुणस्तर लगायत व्यापार र लगानीसँग सम्वन्धित विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसन र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत श्रीधर खत्रीको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह