Logo

कर्पोरेट-बजार

असारको पहिलो सातादेखि सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी


GDP नेपाल
   १० जेष्ठ २०८०, बुधबार


राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।

सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ ।

“आगामी असार ६ गते (जुन २१ तारिख) लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ”, उहाँले भन्नुभयो । उडानका लागि निगमले हाल जिएसए ९जनरल सेल्स एजेन्ट० छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ ।

त्यस्तै, निगमले सिङ्गापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ । सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ । निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ ।

मलेसिया–भैरहवा एघार हजार चार सय ६१ मै उडाउने

वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु ११ हजार चार सय ६१ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

“मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका सहायक प्रवक्ता घिमिरेले भन्नुभयो । उहाँका अनुसार मलेसिया–भैरहवाका लागि रु एघार हजार चार सय ६१ र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १२ हजार तीन सय ४६ भाडादर कायम गरिएको छ ।

निगमको उडान नम्बर आरए ४२१ जहाज जेठ २९ गते काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते आरए उडान नम्बर ४२२ जहाज क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आइपुग्ने उडान तालिका रहेको छ । यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह