उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बजारीकरण गर्न सकियो भने नेपाली हाते कागजको अन्तर्राष्ट्रिय बजारको सम्भावना रहेको बताएका छन् ।
शुक्रबार नेपाली हातेकागजको विशेष मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै सचिव मरासिनीले सरकारको तर्फबाट सरकारको नीतिमा यसलाई सम्भावना भएको उत्पादनको रुपमा पहिचान गरेको जानकारी पनि दिए । उनले सरकारको तर्फबाट एउटा राम्रो भविष्य भएको वस्तुको रुपमा पहिचान गर्नु नै सरकारले यो क्षेत्रलाई प्राथमिकता दिएको पुष्टि हुने बताए ।
उनले भने ‘ हातेकागज परम्परागत वस्तु हो । यो एउटा मौलिक र दिगोपन भएको वस्तु पनि हो र यसलाई त्यही अनुरुप बजारीकरण गर्न सकियो भने यसको अन्तरराष्ट्रिय बजारको सम्भावना पनि छ, हामीले यस्तो प्रकारको मौलिक उत्पादनको प्रवर्द्धन गर्नको लागि बजेट पनि छुट्याएका छौ । यसको प्रवर्द्धन बढाउन र स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न कस्तो खालको व्यवस्था गनुपर्छ त्यसबाट छुट्याइएको बजेट पनि खर्च हुन्छ । ’
अहिलेको चुनौती भनेको नै व्यापार घाटा भएको उल्लेख गर्दै सचिव मरासिनीले भने ‘ त्यो घटेको विदेशी कच्चा पदार्थमा आधारित वस्तुको निर्यात घट्या हो । स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरु गलैँचा, पस्मिना, चिया हरेकको निर्यात बढेको छ । स्वदेशकै कच्चा पदार्थबाट वस्तु उत्पादन गर्न सकियो भने त्यो दिगो हुन्छ । ’
हातेकागजले नेपाली परम्परा र मौलिकता बोक्नुको साथै साना तथा मझौला उद्योगीहरुले उत्पादन गर्ने विषय भएको चर्चा गर्दै सचिव मरासिनीले योसँग साना उद्योगीहरुको आम्दानी र रोजगारीसँग जोडिएको र यसको प्रवद्र्धन हुनु भनेको आम नेपालीहरुको स्तर र रोजगारी वृद्धि हुनु भएको बताए ।
उनले भने ‘ निजी क्षेत्रले पनि यस्तो खालको वस्तुको बजारीकरण गर्नुपर्छ । हामीले बजारीकरण र अनुसन्धनमा खर्च गर्ने हो भने यसको सम्भावना धेरै हुन्छ । यस्तो वस्तुको पहिचान गरेर यसको प्रदर्शन गर्ने व्यवस्था गर्नुपर्छ । ’
प्रतिक्रिया