नेपाल उद्योग परिसंघले श्रमिकलाई सरकारले तोके बमोजिम तलब दिन नसक्ने बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै परिसंघले आर्थिक मन्दी र उद्योगहरुको उत्पादनमा कमि रहेको अवस्थामा सरकारले तोके बमोजिम श्रमिकलाई तलब दिन नसक्ने बताएको हो ।
उच्च ब्याजदर र न्युन उत्पादनले निजी क्षेत्रको मनोबल घटेको जनाउँदै परिसंघले भनेको छ, “अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् ।”
परिसंघले अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन अनुसार माग नहुने र उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्ने बताएको छ ।
“अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्नेछ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ”, विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, परिसंघले विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सरोकारवालालाई आग्रह गरेको छ ।
प्रतिक्रिया