Logo

कर्पोरेट-बजार

सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न वीउवासंघको आग्रह


GDP नेपाल
   १३ भाद्र २०८०, बुधबार


वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले आज एक समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग भेटवार्ता गरेका छन् ।

सो भेटमा संघका पदाधिकारीले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउन आग्रह गरेका छन् ।

समारोहमा स्वागत मन्तव्य राख्दै सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा २ लाख रकमको अक्षय कोषको स्थापना गरिने बताएका छन् । त्यसका साथै अक्षय कोषको परिचालन पछि बन्ने निर्देशिका बमोजिम गरिने अध्यक्ष अग्रवालले जनाए ।

यसका साथै उनले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउन, औद्योगिक सुरक्षा बलको पुनःस्थापना गर्न, स्थलगत भारतीय पर्यटकहरुलाई सहजीकरण गर्न, भारतीय पर्यटकहरुको सहजीकरणको लागि सिमामा आधिकारिक मुद्रा सटही काउन्टरको व्यवस्था गर्न र डिजिटल सेक्युरिटीको व्यवस्था गर्न आग्रह गरे ।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा प्राप्त सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताए । उनले वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी सङ्गठन प्रतिबद्ध रहेको जानकारी दिए । यस्तै, आउँदा दिनहरुमा उद्योग वाणिज्य सङ्घहरुको सहकार्यमा सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरुलाई बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरुका बारेमा जानकारी गराउनका लागि सिमावर्ती क्षेत्रका सचेतना मूलक कार्यक्रमको आयोजना समेत गर्ने अर्यालले जनाए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अशोककुमार टेमानी, वीउवासङ्घका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, पूर्व अध्यक्ष अशोककुमार वैध, उपाध्यक्ष मनोजकुमार दास लगायतका सहभागीहरुले शान्ति सुरक्षाका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, कोषाध्यक्ष शिवजीप्रसाद साह लगायत उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण सङमहासचिव आशिषकुमार लाठले गरेका थिए ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह