नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान चाड तीज लक्षित ‘ट्रेड शो तीज स्पेशल २०२३’ मेलाको आोजना गरिएको छ ।
नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका बिबिध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवद्र्धन र महिलाहरुमा उद्यमीशीलताको विकाश गर्ने हेतुले आयोजना गरिएको सो मेलाको समुद्घाटन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका छन् ।
अध्यक्ष मल्लले महिला चेम्बर महिलाहरुको सर्वागिंण विकाशको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको विकास तथा सामाजिक, सास्कृतिक तथा आर्थिक क्रियाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउँदै उनले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाइ धन्यबाद व्यक्त गरे ।
सो अवसरमा गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिए ।
नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिइन् ।
प्रतिक्रिया