नेपाल हस्तकला महासंघका कार्यवाहक अध्यक्ष सनम शाक्यले हस्तकला क्षेत्रको छुट्टै नीति नियम हुनुपर्ने बताएका छन् ।
महासंघले आज होटेल हिमालयमा आयोजना गरेको हस्तकला वस्तुको निकासी व्यापारमा समस्या र समाधानका उपाय विषयक गोष्ठीमा बोल्दै शाक्यले हस्तकला निकासी प्रवर्द्धनका नीति नियमहरु बाझिँएकाले यस क्षेत्रका लागि छुट्टै निकासी नीति निर्माण गर्नुपर्ने बताएका हुन्।
वर्षमा १२ अर्बको हस्तकलाका सामग्री निकासी हुँदै आएको बताउँदै शाक्यले निकासी व्यापारमा यस क्षेत्रले २० प्रतिशत योगदान दिएको जानकारी गराए । “नेपालमा उत्पादित हस्तकलाका सामग्री भारत, चीन लगाएत ८० वटा मुलुकमा निकासी हुन्छ भने यस क्षेत्रले झण्डै ११ लाख जनालाई रोजगारी दिइरहेको छ”, शाक्यले भने ।
गोष्ठीमा महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधारले हस्तकला क्षेत्रलाई छुट्याइएको अनुदान प्राप्त गर्ने प्रक्रिया निकै झण्झटीलो भएको बताए । निकासीका लागि नगद अनुदान दिने भनिएता पनि अनुदान प्राप्त गर्ने प्रक्रिया निकै झण्झटिलो रहेको जनाउँदै तुलाधरले यसका लागि सहज परिस्थिति निर्माण गर्न सरोकारवालालाई आग्रह गरे । उनले यस क्षेत्रका लागि छुट्टै नीति निर्माण गरिए हस्तकला व्यापार प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए ।
प्रतिक्रिया