काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सुरक्षित तवरले ग्याँस उपभोक्तामा पुर्याउन निर्देशन दिएका छन् । उनले सबै ग्याँस उद्योगलाई जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्ना उत्पादन बजारमा लैजान निर्देशन दिएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारणमा मन्त्री रिजालले एलपि ग्याँस सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील वस्तु भएकाले सबै ग्यास उद्योगले आम उपभोक्ताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले भने, ‘एलपि ग्याँसको सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील वस्तु हो । सबै ग्यास उद्योगले आम उपभोक्ताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई बजारमा ल्याउने छन् भन्ने विश्वास छ ।’
मन्त्री रिजालले ग्यास उद्योगले रोजगारी सृजना गरेर आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो योगदान बताउँदै औद्योगिक क्षेत्रलाई व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन कानुनी एवं नीतिगत सुधार गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘रोजगारी सृजना गरी आर्थिक क्षेत्रलाई चलायमान तुल्याउन निजी क्षेत्रले ठूलो योगदान गरेको छ । एलपि ग्याँस उद्योग व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन सरकारले के कस्ता कानुनी र नीतिगत सुधार गर्नुपर्छ, त्यो गर्दै जान्छ ।’
उनले व्यावसायिक निष्ठालाई कायम राख्दै ग्यास उद्योगलाई व्यवस्थित र सुरक्षित उद्योगको रूपमा स्थापित गर्नुपर्ने बताए ।
प्रतिक्रिया