Logo

कृषि / सहकारी

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा


GDP नेपाल
   १ कार्तिक २०८०, बुधबार


सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको सहयोगमा रु चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त आज केन्द शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उत्पादन वृद्धि गरी कृषिजन्य समग्रीमा आत्मनिर्भर बन्दै जाने लक्ष्यअनुरुप महानगरले कृषि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

किसानका उत्पादित वस्तुको सहजरूपमा बजारीकरण होस् भन्ने उद्देश्यले महानगरपालिकाले विभिन्न ३५ वटा कृषिजन्य वस्तुको समर्थन मूल्य तोकिसकेको उहाँले जानकारी दिनुभयो । उत्पादनमा जोड दिन सकिए दुई÷तीन वर्षमा तरकारी, मासु र दूधमा आत्मनिर्भर बन्न सकिने बताउँदै महानगर प्रमुख आचार्यले किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउने कुरामा महानगर तयार रहेको बताउनुभयो ।

उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडान सहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको चर्चा गर्दै उहाँले महानगरभित्र २५ वटा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र रहेको बताउनुभयो । पोखरामा तिहारमा खपथ हुने फूलको आयात कम गर्ने उद्देश्यका साथ महानगरपालिकाले यसवर्ष सयपत्री फूलको बीउ वितरण गरेर दुई सय रोपनी जमिनमा फूल लगाइएको उहाँले बताउनुभयो ।

वडा नं–२२ का वडाध्यक्ष हिमलाल बरालले वडाभित्र किसानका लागि सिँचाइको सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन गर्दै त्यसलाई सहजरुपमा उपभोक्तासम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताउनुभयो ।

केन्द्रमार्फत सङ्कलित कृषि उपजलाई बजारमा पुर्‍याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउने उहाँले बताउनुभयो । केन्द्रका अध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष भीमप्रसाद पौडेललगायतले केन्द्र सञ्चालनसँगै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह