काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका छन् ।
बिहिबार एशियन बैकर्स संघ (एबीए) को ३९औं कन्फरेन्समा बोल्दै उनले पछिल्लो समय पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका हुन् ।
उने भने, ‘अर्थतन्त्र कोभिडको चपेटामा पर्यो तर पनि अर्थतन्त्र चलिरहेको छ । अहिले पुँजीबजार क्षेत्रमा लगानी बढ्दै गइरहेको छ । अर्थतन्त्रको आकार पनि बढेकै छ, बैंकहरुको खराब कर्जा बढेको छ । यो स्वाभाविक हो । देश ठूलो महामारीबाट भरखरै बाहिर निस्कन खोजिरहेको छ । केही वर्षमा हामी यसबाट बाहिरिने छौं । त्यसकारण सकारात्मक हुनुपर्छ । देशका ठूला परियोजनाका लागि लगानी जुटाउन बाह्य रकम आवश्यक छ ।’
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा लगानी गर्ने हाल उपयुक्त समय भएको बताए । उनले नेपालको बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको पनि बताए ।
‘नेपालले केही वर्षमै धेरै क्षेत्रमा फड्को मारेको छ । चाहे त्यो बैकिङ क्षेत्रमा होस्, जलविद्युत क्षेत्रमा होस् वा पर्यटन क्षेत्र होस् । देशले २० वर्ष पहिले हरेक क्षेत्रलाई कसरी म्यानेज गर्दै आइरहेको थियो तर अहिले हामी धरै अगाडि बढिसकेका छौं ।’
सो कन्फरेन्समा २७ देशका बैंकका सीइओहरुको सहभागिता थियो । कन्फरेन्स भोलिसम्म चल्नेछ। विदेशी बैंकका सीइओहरु बोलाएर कार्यक्रम गरिएको नेपालमा पहिलो पटक भएको नेपाल बैंकर्स संघले बताएको छ ।
प्रतिक्रिया