Logo

Banner-news

लगानी बोर्डले किन गोप्य राख्यो शोकेसका आयोजनामा परेका १७ आवेदन ?


GDP Nepal
   १७ चैत्र २०७५, आइतबार


काठमाडौं । शनिबार सम्पन्न लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेका ७७ परियोजनामध्ये १७ वटामा आवेदन परेको लगानी बोर्डले दाबी गरेको छ । तर, ति १७ परियोजना कुनकुन हुन् र आवेदन कसकसले गरे भन्ने भने चाहिँ बोर्डले खुलाउन चाहेको छैन ।

लगानी बोर्डले १७ परियोजनामा लगानी प्रस्ताव परेको बताए पनि आवेदकको पहिचान र परियोजनाको नामसमेत खुलाउन नचाहेकोले संशय पैदा भएको छ । सम्मेलन असफल रहेको भन्ने कतिपयको आरोपका बीच सफल देखाउन यस्तो प्रचार गरिएको आशंका पनि गरिँदैछ ।

बोर्डले भने आवेदन पर्दैमा सार्वजनिक गर्ने प्रचलन नरहेको जिकिर गर्दै आएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी प्रस्ताव परिपक्व नभएकाले सार्वजनिक नगरिएको जिकिर गरे । तर, जानकारहरु बोर्डले पेश गरेका ७७ वटै परियोजनामा लगानीकर्ताको रुचि नदेखिएको दावी गर्छन् ।

सम्मेलनको समापनमा विवरण प्रस्तुत गर्दै बोर्डका सीईओ महाप्रसाद अधिकारी ।

बार्डले क्षेत्रगत परियोजनामा परेको आवेदन भन्दै एक तथ्यांक भने सार्वजनिक गरेको छ । जसअन्तर्गत यातायात पूर्वाधारतर्फ ७, ऊर्जातर्फ ४, कृषिमा ३, शिक्षा तथा स्वास्थ्यमा २ र ढुवानी पूर्वाधारका १ परियोजना रहेको बोर्डको दावी छ ।

यद्यपि, सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा भने हस्ताक्षर भएको छ । जसमा चौधरी समूह र सर्राफ ग्रुपबीच नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि सम्झौतापत्रमा हस्ताक्षर भयो ।

यस्तै, सिजी लाइफ र टर्कीमा मुख्यालय रहेको मोबाइल सेवा प्रदायक कम्पनी टर्कसेलबीच पाँचै पुस्ताको मोबाइल नेटवर्क नेपालमा विस्तार गर्ने समझदारी भयो । प्रदेश नं २ मा सौर्य ऊर्जा प्रणाली जडानका लागि मुख्यमन्त्री लालबाबु राउत र सिजी इन्फ्रास्ट्रक्चरका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरे ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा प्रवद्र्धक सतलज विद्युत् निगमका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इण्डियाका सहायक प्रबन्धक सरोती विनोद कुमार, एभरेष्ट बैंक नायब महाप्रबन्धक गिरिश कोइली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संयुक्त रुपमा हस्ताक्षर गरे ।
कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्न हाइड्रो सोलुसन ग्रुप र हुनान सिन्ह्वा वाटर कन्जरभेसन हाइड्रो पावरबीच सम्झौता भएको छ । उक्त सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र हुनान सिन्ह्वाको अन्तर्राष्ट्रिय व्यापार प्रमुख झू झेन्ज छेनले हस्ताक्षर गरे ।

लगानी बोर्ड नेपाल र अन्तर्राष्ट्रय मुद्रा कोष(आएमएफ)बीच सिमरा विशेष आर्थिक क्षेत्र निर्माणसम्बन्धी समझदारी भयो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न सामझदारी भएको हो । सो समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा विशेष आर्थिक क्षेत्र (सिमरा) का प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आएमएफका नेपाल, भूटान तथा बङ्गलादेश हेर्ने क्षेत्रीय व्यवस्थापक वेण्डी विमर तथा वरिष्ठ लगानी अधिकृत पङ्कज सिन्हाले हस्ताक्षर गरे ।

बनेपा हिमालय बुटिक भिलेज रिसोर्ट प्रालि निर्माणका लागि उक्त कम्पनीका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङ प्रालिका प्रबन्ध निर्देशक एड्डी सियाबीच हस्ताक्षर भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रु १० अर्ब बराबरको लगानी गर्ने समझदारीपत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहबीच समझदारी भएको छ । उक्त रकम पूर्वाधार विकासमा खर्च गरिने एनआरएनले जनाएको छ ।

नेशनल कोल्याटरल म्यानेजमेन्ट र नेपाल वेयर हाउस कम्पनी लिमिटेडबीच हरित भण्डारगृह निर्माण गर्नेसम्बन्धी समझदारीमा कम्पनीका प्रबन्ध निर्देशक आनन्दा बगिरा र केल्याटरल म्यानेजमेन्टका उपप्रमुख कार्यकारी अधिकृत अनुपम कौशिकबीच हस्ताक्षर भयो ।

पूर्वाधार विकास सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्माको लाइसेन्स कन्ट्रयाक्टर एशोसिएशन (एमएलसिए) बीच समझदारी भएको छ । महासङ्घका अध्यक्ष रवी सिंह र एमएलसिएका अध्यक्ष उक्या विनले सो समझदारीमा हस्ताक्षर गरे ।

त्यसैगरी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना निर्माणका लागि कोरियाली प्रवद्र्धक कोसेपले ६५० मिलियन डलर बराबरको लगानी प्रतिबद्धता गरेको छ ।
भारतको मुथोड फाइनान्सले युनाइटेड फाइनान्स लिमिटेडलाई ३९ करोड ९० लाख लगानी गर्ने घोषणा गरेको छ ।
लगानी बोर्ड नेपाल र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र दक्षिण अफ्रिका लगानी बोर्डका निमित्त प्रमुख युनुश हुसैनले हस्ताक्षर गरे ।

अपी पावर कम्पनी नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच १८ मेगावाट क्षमताको सौर्य परियोजना, ९८ मेगावाटको जलविद्युत् परियोजना र १० मेगावाट क्षमताका वायु ऊर्जा उत्पादनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा अपी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कँडेल ग्रुपका अध्यक्ष राजेन कँडेलले सम्झौतामा हस्ताक्षर गरे ।
यस्तै डोल्मो हिमालय इनर्जीले पनि लगानीको घोषणा गरेको छ ।

प्रकाशित : १७ चैत्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह