Logo

मुख्य समाचार

जनयुद्धको बेलाजस्तै पुराना होटलहरु विस्थापित हुने खतरा छः विनायक शाहको विश्लेषण


gdpnepal
   ३ माघ २०८०, बुधबार


विनायक शाह
नेपालमा पहिलो होटल २००७ सालमा खुले पश्चात आजको दिनसम्म ठूला साना गरी १० हजार भन्दा बढी होटल, रिसोर्ट, पर्यटकीय स्तरीय लज गेष्टहाउस सञ्चालनमा रहेको एकिन तथ्यांक नभए तापनि अनुमानित तथ्यांक छ । एक पर्यटकले ९ वटा प्रत्यक्ष अप्रत्यक्ष रोजगारी सृजना गर्न सक्ने डब्लूटीओको तथ्यांकअनुसार यस क्षेत्रले झन्डै दश लाख कामदार कर्मचारीले पूर्णकालीन, अल्पकालीन र सिजनल रोजगारी पाएका छन् ।

आजको बजार मूल्यमा राष्ट्रि होटल क्षेत्रमा भएको लगानी राष्ट्रिय वार्षिक बजेटको हाराहारी रहेको र विश्व बैंकको तथ्यांकले कूल गार्हस्थ्य उत्पादन जीडीपीमा झन्डै ८ प्रतिशत यस क्षेत्रको योगदान रहेको उल्लेखनीय छ । विदेशी मुद्राको प्रमुख स्रोत यस क्षेत्रले अन्य आर्थिक क्षेत्र जस्तै कृषि, उत्पादन उद्योग, यातायात, बैंकिङ, बीमा, हस्तकला आदि क्षेत्रको विकास र विस्तारमा प्रत्यक्ष योगदान पुर्‍याउँदछ ।

प्रस्तुत पृष्ठभूमिको आधारमा देशको टुरिष्ट क्यारिङ क्यापसिटी झन्डै ३५ लाखको हाराहारीमा रहेको अनुमान छ । २०२३ को तथ्यांकले दश लाख भन्दा बढी पर्यटक भित्रिएको जनाएको छ भने सडकबाट आउने भारतीय पर्यटक र फस्टाउँदै गएको आन्तरिक पर्यटकको संख्या समेत जोड्ने हो भने विदेशी तथा स्वदेशी पर्यटकहरुको संख्या करिब १७ लाख पुग्ने अनुमान छ ।

यसरी तथ्यांक हेर्दा हाम्रो क्यारिङ क्यापसिटी अर्थात् आपूर्तिको आधा जसो मात्र डिमान्ड रहेको देखिन्छ । यस अवस्थामा कतिपय होटल व्यवसाय ब्रेकइभन प्वाइन्ट भन्दा कम हुँदा सञ्चालन घाटा रहेको देखिन्छ । यस स्थितिमा बैंक वित्तीय संस्थालाई बुझाउने पर्ने साँवा व्याज नियमित रुपमा बुझाउन नसक्दा कतिपय होटेलहरु खासगरी भैरहवा र लुम्बिनीका होटलहरु कालोसूचीमा राखी लिलामीमा आएको अवस्था छ ।

यस स्थिति पक्कै पनि नाजुक छ र समस्या समाधानका लागि हालको मौजुदा स्थितिको सुक्ष्म समीक्षा र सोही अनुरुप राष्ट्रिय नीति र कार्ययोजना आवश्यक छ ।

१. विद्यमान ऐन नियम नीति कार्यक्रममा व्यापक सुधार हुनु अपरिहार्य छ । पर्यटन ऐन २०३५ लाई समय सापेक्ष बनाउन थालिएको प्रक्रिया चाँडै टुंगिने अपेक्षा छ भने सरकारले घोषणा गरेको २०२३–२०३२ को पर्यटन दशकको पहिलो वर्ष व्यतित भइसक्दा पनि कार्यान्वयन पक्ष मौन रहनु उदेक लाग्दो छ । होटलहरु उद्योगमा दर्ता भए तापनि सरकारी ऐन नीति नियमले सेवा व्यवसायको रुपमा मात्र वर्गिकरण गरेको कारण कर, पूर्वाधार, ऊर्जा, भन्सार लगायतका सहज व्यवहार प्राप्त गर्न नसकेकोले होटलहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको दर्जा प्रदान गरी औद्योगिक व्यवसाय ऐन नियमावली २०७६ मा संशोधन थप हुन यस अवसरमा जोडदार माग गर्दछु ।

२. हालको स्थितिमा बढ्दै गएको पर्यटक क्यारिङ क्यापसिटी अर्थात् आपूर्ति अनुरुपको माग बढाउनु हामी सबैको सामु रहेको चुनौती हो । यसका लागि कनेक्टिभिटी बढाउन तयार भई अन्तर्राष्ट्रिय उडानको प्रतिक्षामा रहेका भैरहवा र पोखराका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु प्राथमिकताका साथ गृहकार्य प्रारम्भ गरी निश्चित समयसीमा भित्र कमसे कम भारत र चीन जोड्ने चार्टर्ड तथा सेड्युल फ्लाइट सुरु हुनु पर्दछ । २०२३ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० लाख पर्यटक भित्रिएको उत्साहजनक तथ्यांक, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनबाट पर्यटक आगमन संख्या दोब्बर बढाउन सकिने देखिन्छ ।

३. चार लेनमा विस्तार भइरहेका पोखरा, चितवन, लुम्बिनी लगायतका सडक निर्माण निर्धारित समयभन्दा निकै पछाडि रहेका कारण पर्यटन गतिविधि प्रभावित छ । यी राजमार्गहरु निश्चित समयसीमा भित्र पूरा गर्न सरकारी प्रतिबद्धता र अठोट आवश्यक छ । इयूले नेपाली हवाई जहाजहरु कालो सूचीमा राखेका कारण हाम्रो प्रमुख गन्तव्यमा युरोपियन युनियनका नागरिकहरुले हवाई यात्रा नगर्ने तर काठमाडौं–पोखरा बीचको २०० किमी सडक पूरा गर्न १०–१२ घण्टा लाग्ने स्थितिले पर्यटक गतिविधि धेरै हदसम्म घटेको छ ।

मौजुदा स्थितिमा छिटो अपेक्षित सुधार नआउने हो भने जनयुद्धताका बन्द भएका त्यस बेलाका नाम चलेका ब्लुस्टार, शेर्पा, नारायणी लगायतका होटल जस्तै विद्यमान पुराना होटलहरु विस्थापित हुने खतरा बढ्दै गएको छ ।

छोटो समयमा आर्थिक समृद्धि ल्याउन सक्ने पर्यटन क्षेत्र देश विकासको क्रममा प्राथमिकता जाहेर भए पनि यस तर्फ राष्ट्रिय अठोट र प्रणसहितको राष्ट्रिय कार्यनीतिका साथ अगाडि बढेमा केन्द्र, प्रदेश र स्थानीय निकायसम्म जनताले अनुभूत गर्न सक्ने आर्थिक विकास पु¥याउन सहजै सकिन्छ । आज पर्यटन आगमन लगायतका आर्थिक सूचांकहरु सकारात्मक देखिए पनि जनताले, व्यवसायीले सो अनुरुपको सकारात्मक अवस्था अनुभूत गर्न नसकेको यथार्थ हामी सामु छ ।

कोभिडबाट थपिएको पर्यटन क्षेत्रले छोटो समयमा जुन रिकभरी हासिल भयो त्यो निकै उत्साहजनक छ । हो यो सत्साहलाई बढाउँदै जाँदा हामी दक्षिण एसियाको पर्यटन हब बन्न सक्छौं, पूर्वाधार विकास र व्यवस्थापन गर्दै जाँदा द्रुत गतिमा आर्थिक विकास गरेका छिमेकी भारत र चीनबीचको हाम्रो देशमा ५० लाख पर्यटक भित्राउन सहज छ । यही पृष्ठभूमिमा हामी निजी क्षेत्रलाई सरकारले साथमा लिएर हाम्रो बिजनेस कन्फिडेन्स बढाउँदै लगेर सरकारले घोषणा गरेको साल २०२५ विशेष पर्यटन वर्ष प्रभावकारी ढंगमा आयोजना हुनको लागि आह्वान गर्दछु ।

होटल संघ अध्यक्ष शााहले सत्कार दिवस २०८० का अवसरमा आायोजित समारोहमा गरेको सम्बोधनको सम्पादित अंश

प्रकाशित : ३ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह