Logo

कर्पोरेट-बजार

व्यावसायिक साझेदारी लागि अजाया र अल अली ग्रुप युएइबीच समझदारीपत्रमा हस्ताक्षर


GDP नेपाल
   २३ माघ २०८०, मंगलबार


हिराको अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपबीच व्यावसायिक साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेश कुमार अडुकियाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यो समझदारीले विज्ञता र लगानीलाई एकै ठाउँमा ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ । समझदारीले विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने र विश्व बजारमा नेपाली हस्तकलाको प्रवर्द्धनमा पनि कोसेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ ।

समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकिया भने,’अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड हो । यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकै ठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं ।’

त्यसैगरी विशाल सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनले बताए । निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा समेत प्रवेश गर्ने अडुकियाले जानकारी दिए ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्त रुप दिन यो समझदारी कोसेढुंगा साबित हुने बताए ।

‘नेपालको पर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौं । अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छ । आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको छ,’ उनले भने ।

प्रकाशित : २३ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह