काठमाडौं । प्रभु बैंकले जनता टिभीको सञ्चालक संस्था जनता प्रकाशन तथा प्रशारण पब्लिक लिमिटेडलाई कर्जा चुक्ता गर्न ३५ दिनको सूचना दिएको छ ।
प्रभु बैंकको मुख्य शाखा कार्यालय, बबरमहलले जनता टिभीको सञ्चालक डा. विजय पौडेलससहित ऋणी तथा जमानतकर्ताका नाउँमा ऋण कर्जा चुक्ता गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना बुधबार जारी गरेको हो ।
बैंकबाट ऋणीले लिएको कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानी सम्बन्धित शर्त कबुलियत उल्लघंन गरेको तथा पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणीले कर्जा नियमित तथा चुक्ता गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको भन्दै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ ।
३५ दिने सूचना समेतको बेवास्ता गरी उल्लेखित समयावधि भित्र बैंकको सम्पूर्ण रकमचुक्ता फछ्यौट नगरेमा ऋणीसहित जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराईने बैंकले जनाएको छ ।
जनता प्रकााशन तथा प्रशारणको सम्पत्तिबाट कर्जा असुल हुन नसके जमानतकर्ता समेतको सम्पत्तिबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम लिलाम बिक्री वा अन्य व्यवस्थाबाट असुलउपर गरिने बैंकले चेतावनी दिएको छ ।
“यसबैंकमा धितो सुरक्षण रहेको सम्पत्तिबाट बैंकको कजां चुक्ता नभएको खण्डमा तहाँ ऋणी तथा जमानतकतांबाट कर्जा असुलउपर गर्न अन्य आवश्यक कानूनी प्रकृया शुरु गरिने व्यहोरा जानकारी गराउँदछौं,” बैंकद्वारा जारी सूचनामा भनिएको छ, “आफ्नो व्यावसायिक ख्याति, सामाजिक प्रतिष्ठा तथा बैंकको उल्लेखित काम कारवाहीबाट तपाई उपर पर्न सक्ने अन्य असर र त्यसबाट उत्पन्न हुन सक्ने परिणाम समेतलाई ध्यानमा राखी उल्लेखित समयावधि भित्र सम्पूर्ण कर्जा चुक्ता फछ्यौट गर्नु हुने अपेक्षा गरिएको छ ।”
जनता प्रशारण तथा प्रकाशन पब्लिक लिमिटेडसहित सञ्चालक तथा जमानतकर्ताहरु डा. विजय पौडेल, रम्भा पौडेल तथा उदया शर्मा पौडेल, लंकबहादुर केसी, गोपीरमण उपाध्याय, प्रेमलकुमार खनाल, भगीरथ सापकोटा, डा. रमेशचन्द्र पौडेल, नारायणप्रसाद सुवेदी, पोमनारायण अधिकारी र अरुणप्रसाद नेपाललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न सकिने बैंकले जनाएको छ ।
पौडेल सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेतासमेत हुन् ।
प्रतिक्रिया