Logo

अर्थनीति

स्वर्णिम वाग्लेलाई रवि लामिछानेको लाचार छायाँ बन्नुपर्ने रहर कि बाध्यता ?


gdpnepal
   २२ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । नेपालमा छोटो समयमै प्रसिद्धि कमाएका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पछिल्ला दिनहरुमा भने आफ्नै अभिव्यक्तिका कारण आलोचित बन्न पुगेका छन् ।

नेपाली कांग्रेसमा टिकट नपाएपछि पनि संस्थापन पक्षबाट निरन्तर लखेटिएका कारण पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका वाग्लेप्रति सहानुभूति राख्ने समूह अहिले उनीबाट टाढिँदै छ ।

वाग्लेले रास्वपा प्रवेशलगत्तै तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको केही महिनामा पार्टीमा तेस्रो बरियतासहित उपाध्यक्षको जिम्मेवारी पनि पाएका छन् ।

झट्ट हेर्दा पार्टी स्थापनामा कुनै लगानी नरहे पनि उनले पाएको जिम्मेवारी आकर्षक देखिन्छ । तर, रास्वपा सभापति रवि लामिछानेको पदचाप पहिल्याउँदै उनले विवेक र विद्वतालाई भने बन्धक बनाएका छन् ।

कांग्रेसमा रहँदा नेतृत्वको खुलेर आलोचना गर्नसक्ने हैसियत बनाएका वाग्ले अहिले भने रास्वपा सभापतिको वैध–अवैध सबै कर्तुतहरुका रक्षाकवच मात्र भएका छैनन् कि ‘रास्वपा भनेको रवि लामिछाने हो र रवि लामिछाने भनेकै रास्वपा हो’ भन्ने सिद्धान्तका पक्षपोषक बनेका छन् ।

“पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको छ । जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,” कांग्रेस छाड्दा वाग्लेले लेखेका शब्द हुन् यी ।

तर, वाग्ले जिबी राईको सहकारी ठगी प्रकरणमा पार्टी सभापति लामिछाने मुछिएसँगै त्यसको बचाउमा उत्रिए । पार्टीले पुरस्कारस्वरुप उनलाई सहकारीकै अध्ययन गर्न समितिको संयोजक बनायो र सो समितिले कर्मकान्डी रिपोर्ट प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।

रास्वपा सभापति लामिछानेले पाँच महिनाअघि आफूहरु कुनै गठबन्धनमा नरहने बरु एमालेसहित तत्कालीन सत्ता गठबन्धनलाई एउटै मोर्चा बनाउन दिएको चुनौतीमा सही थाप्दै वाग्लेले लेखेका छन्ः उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि शटरचाहिँ किन बेग्लाबेग्लै ?

पार्टी उपाध्यक्ष भए पनि सरकारमा जाने निर्णय गर्ने एकल अधिकार सभापति लामिछानेलाई दिने र सरकारमा गएपछि पुरानो सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपाले सरकार छोड्ने दाबी गर्ने वाग्लेले विवेक भने सभापतिसमक्ष बन्धक राखेको देखिन्छ ।

प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको उनको दावी यति टिठलाग्दो देखिन्छ कि उनी स्वयंले यसमा लज्जा महशुस गरिरहेको हुनुपर्छ ।

यहाँसम्म कि रास्वपा शर्तसहित सरकारमा सहभागी भएको र शर्तहरु कायम नरहेको अवस्थामा सरकार छोडेर बाहिरिने उनको दाबी यसअघि नै खण्डित भइसकेको छ । सभापति लामिछाने नागरिकता काण्डमा अदालतबाट दोषी ठहर भएलगत्तै सिंगो पार्टीलाई सरकारबाट फिर्ता बोलाइएको थियो ।

यसरी लामिछानेको रबर स्ट्याम्प बनेर पार्टी नेतृत्वमा पुग्छु भन्ने वाग्लेको दुस्वप्नअघि डिपी अर्याल, मुकुल ढकाललगायत बाधक बन्ने स्पष्ट छ ।

वाग्ले अर्थशास्त्री भए पनि अर्थ मन्त्रालयमा रास्वपाको दावी छैन । उनले योजना आयोगको सदस्य र उपाध्यक्ष रहँदा आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । एमसीसीमा उनको भूमिकाको पनि चर्चा भइरहन्छ ।

तर, पार्टीले उनलाई अर्थ मन्त्रालयमा पठाएर मुलुकको अर्थतन्त्र सुधारका लागि पहल किन गरिरहेको छैन भन्ने प्रश्नको उत्तर उनी स्वयमसँग पनि छैन । उनीमाथि पार्टी पंक्तिले विश्वास नगरेको हो कि उनलाई सफल अर्थशास्त्री मान्न पार्टी तयार नभएको हो ?

यी प्रश्नहरु गम्भीर छन् । तर, कांग्रेस विरुद्ध सार्वजनिक नियुक्तिदेखि ठूला काण्डसम्ममा चर्को स्वर गर्ने वाग्ले अन्ततः रवि लामिछानेको लाचार छायाँ बन्न विवश देखिएका छन् ।

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह