Logo

मुख्य समाचार

रवि लामिछानेलाई आफ्नै विगत गलपासो बन्दैः आक्रामक कांग्रेस, रक्षात्मक सत्तापक्ष !


gdpnepal
   २ चैत्र २०८०, शुक्रबार


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नै विगत ‘गलपासो’ बन्ने देखिएको छ ।

टेलिभिजनको पर्दामा ‘आफैं प्रहरी, आफैं न्यायाधीश’ बन्दै ख्याती कमाएका लामिछाने राजनीतिमा आएपछि पनि प्रतिपक्षमा रहँदा उनले निर्वाह गरेको भूमिकाकै कारण अप्ठ्यारो स्थितिमा पुगेका छन् ।

‘भाइ एमाले’ उपाधि पाएको उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघिको गठबन्धन सरकारका विवादित मन्त्रीहरुको राजीनामा माग्दै एमालेसँग मिलेर सदन अवरोध गर्दै आएको थियो ।

लामिछानेको विवादास्पद विगतका कारण उनीमाथि दर्जनौं प्रश्न उठेका छन् । कांग्रेसले त्यसमै टेकेर लामिछानेलाई गृहमन्त्रीका रुपमा स्वीकार्न नसकिने अडान सदनमा राखिरहेको छ ।

कांग्रेसले सदनमा शून्य समय, विशेष समय र विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तसम्बन्धी छलफलका बखत सदनलाई सुचारु गर्न सहयोग गरे पनि सरकारले दिने अन्य बिजनेसमा भने अवरोध गर्ने निर्णय नै गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । तर, उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरु उठेर अवरोध गरे ।

कांग्रेस सांसदहरुले आफ्नो स्थानबाट उठेर सदन अवरोध गरेपछि सभामुखले सांसद राजन केसीलाई बोल्न समय दिएका थिए । केसीले उपप्रधान तथा गृहमन्त्री लामिछानेको सहकारी ठगीसम्बन्धी छानबीन चलिरहेको भन्दै उनलाई पदमा बस्न नसुहाउने र त्यसको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुपर्ने बताए ।

अवरोधकै बीच सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । उनले प्रधानमन्त्रीले केही दिनमै सांसदहरुसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको भन्दै बचाउ गर्न प्रयास गरे पनि कांग्रेस सांसदहरुले मानेनन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्ष आफ्नो स्थानबाट उठेपछि सदन स्वतः अवरोध भएको नजिर रहने भन्दै गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री दाहालले जवाफ दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीको जवाफ नआउँदासम्म माननीय उपप्रधानमन्त्रीजीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं,’ उनले भने ।

लेखकले यसअघि एमाले प्रतिपक्षमा रहँदा आरोप लागेका मन्त्रीका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने भन्दै अवरोध गरेका थिए । प्रधानमन्त्रीले विवादास्पद मन्त्रीलाई हटाइसकेँ भनेर सदनमै भनेको स्मरण गर्दै लेखकले तत्कालीन प्रतिपक्ष र प्रधानमन्त्रीले विगतमा भनेका कुरामा अडिग रहन आग्रह गरे ।

तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउन एमाले र रास्वपाले प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध गरेका थिए ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह