Logo

कर्पोरेट-बजार

पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार


GDP नेपाल
   ५ चैत्र २०८०, सोमबार


काठमाडौँ।  यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा रु एक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा रु एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी रु पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।  

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको मेलामा ४९ हजार एक सय जनाले अवलोकन गरेको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । 

अध्यक्ष तामाङका अनुसार मेलामा व्यावसायिक कक्ष ६०, ल्यान्डस्केपिङ कक्ष तीन, अफिसियल कक्ष आठ,  प्रतियोगितात्मक प्रदर्शनी एक कक्ष र एक खाद्य प्रदर्शनी कक्षसहित जम्मा ७३ कक्ष राखिएको थियो । मेला अवलोकनका लागि सर्वसाधारणका लागि रु एक सय ५० र विद्यार्थीका लागि रु एक सय प्रवेश शुल्क तोकिएको थियो । “स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मुख्य नाराका साथ मेला सञ्चालन गरिएको हो ।  

गत शनिबार मेलाको स्थलगत अवलोकन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले पुष्प व्यवसायीको नीतिगत समस्या समाधानका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभएको थियो । नेपालमा मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । 

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् ।  

विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । अन्य समयभन्दा कार्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलको खेती गर्दछन् । वार्षिक करिब रु तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेको बताइएको छ ।  

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह