Logo

मुख्य समाचार

बहकिएका स्वर्णिमः गगनलाई राजनेता, रविलाई विपीदेखि प्रचण्डको अति प्रशंशासम्म


gdpnepal
   १२ चैत्र २०८०, सोमबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा छ । पार्टी स्थापनाको दुई वर्ष नपुग्दै दोस्रोपटक सत्तामा गएको रास्वपा नीतिभन्दा नेताका चरित्रका कारण चर्चामा छ ।

पार्टी सभापति रवि लामिछानेको काण्डैकाण्डले दोस्रोपटक पनि उपप्रधान तथा गृहमन्त्रीबाट हात धुनुपर्ने हो कि भन्ने चिन्ता आम कार्यकर्तामा देखिन्छ । जसका कारण छोटो समयमै सत्ताबाट बाहिरिनुपर्ने चिन्ता त छँदैछ, पार्टीकै भविष्य के होला भन्ने प्रश्न पनि छ ।

नीतिविहीन रास्वपालाई नीतिगत दिशानिर्देश गर्ने व्यक्तिका रुपमा चर्चा कमाएका डा. स्वर्णिम वाग्लेका कारण पनि रास्वपा चर्चामा छ । उपनिर्वाचनमा रास्वपा प्रवेश गरेर संसद छिर्न सफल वाग्लेका लागि आफ्नै अभिव्यक्ति गलपासो बन्न थालेको छ ।

वाग्ले कांग्रेसमार्फत राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्ष हुँदै पार्टीकै घोषणापत्र मस्यौदा समितिमा समेत सक्रिय रहेका थिए । राजनीतिक पृष्ठभूमि नहुँदा समेत उनले छोटो समयमा ठूलो जिम्मेवारी पाएका थिए ।

कांग्रेसमा रहँदा सुरुमा देउवानिकट वाग्ले पछिल्लो समय शेखर–गगन नजिक रहे । सो बेला उनले अनुपम फुडल्यान्डमा आयोजित टाउनहल भन्ने कार्यक्रममा महामन्त्री गगन थापालाई ‘स्टेट्समेन इन द मेकिङ’को संज्ञा दिए ।

गगन थापाको व्यवहारमा राजनेताको झझल्को आउँछ भन्ने वाग्ले अहिले थापाको कटु आलोचक बनेका छन् । थापाका केही कमजोरीमाथि प्रहार गर्न उनले नै रविलाई इनपुट दिइरहेको चर्चा पनि छ ।

वाग्लेले थापाकै निर्वाचन क्षेत्रको चुनावी सभामा गगन थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरेका थिए ।

थापाले कोभिड महामारीमा राजनेताको छवि बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने उनको विश्वास थियो ।

थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई विमाको माध्यमबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको बताउने वाग्ले अहिले थापाको कटु आलोचक बनेका छन् ।

२०७९ को आम निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भाउ नदिने वाग्ले उपनिर्वाचनमा सोही पार्टीबाट उम्मेदवार भए । आफू कांग्रेसबाट लखेटिएको महशुस गरेका वाग्ले रवि लामिछानेप्रति सुरुमै चाहिनेभन्दा बढी उदार देखिए ।

“रविजी मा विपी कोइरालाको जस्तो ऊर्जा र भिजन देखिराख्या छु !” तनहुँको चुनावी सभामा उनले भनिरहँदा आलोचना भएको थियो ।

कांग्रेस छाडेपछि उनले भनेका थिए, “अहिले म, वास्तवमा तुलनै गर्ने हो भने, रवि जी, यो १५ सालको विपी कोइरालाले नेतृत्व गरेको त्यो भिजन भएको, ऊर्जा भएको, एउटा आदर्श बोकेको यो देशलाई एउटा निश्चित समय सीमाभित्र यहाँ पु¥याउँछु भन्ने हुटहुटीका साथ, त्यो तपाईको नेतृत्वमा, त्यो ऊर्जा र भिजन देखिराख्याछ नि, तुलना गर्न मिल्छ ।”

दुई दिनअघि काठमाडौंकै एक कार्यक्रममा पनि उनले ‘हाम्रो पार्टीका आदरणीय सभापतिज्यू, मेरा मित्र एवं नेपाल राष्ट्रकै माननीय उपप्रधानमन्त्रीज्यू। यो भन्दापनि कस्तो स्वाद आइरहेको छ,’ भनिरहँदा सामाजिक सञ्जालमा उनीप्रति सहानुभूति र समथर्न जनाउनेहरुले आलोचना र व्यंग्य गरेका छन् ।

गत महिना प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिँदै गर्दा रास्वपाका तर्फबाट बोलेका वाग्ले झनै बहकिएका थिए ।

आलोचित प्रधानमन्त्री प्रचण्डको गुणगानदेखि माओवादी युद्धको सान्दर्भिकता पुष्टि गर्ने उनको प्रयासले धेरैलाई झस्कायो ।

“अस्थिरता बेइमानीजस्ता भाष्यभन्दा माथि उठेर हामीले उहाँको बेचैनीको जरैसम्म पुग्न खोज्यौ भने उहाँलाई न्याय हुन्छ, ब्याज खाएर र कुर्सी ओगटेर नभई कामै गरेर राष्ट्र हितका सवालमा प्रधानमन्त्रीज्यूको लेगेसीलाई दरिलो बनाउने चाहाना र उहाँको लेगिसी फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेर साथ दिएको छ,” वाग्लेले भने ।

वाग्ले प्रचण्डको प्रशंशामा यत्तिमै रोकिएनन् । संघर्षपूर्ण राजनीतिबाट उदाएको जीवनको उत्तराद्रर्धमा कुनै नेताले आफ्नो लेगेसीको खोजी गर्ने भन्दै म के का लागि चिनिन चाहन्छु भन्ने राजनीतिमा अहम् प्रश्न रहेकाले सबै वरिष्ठ नेताहरूमा त्यो भइदिने हो भने यो देश धेरै अगाडि बढिसकेको हुने थियो भन्दै प्रचण्डको पक्षमा वकालत गरे ।

देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण, समावेशी समाजको जग निर्माणमामा वर्तमान प्रधानमन्त्रीलाई समाजले सम्झने उनको भनाइले माओवादी युद्धको सान्दर्भिकता पुष्टि गर्ने प्रयास नै गरेको देखिन्छ ।

वाग्ले राम्रा अर्थशास्त्री भए पनि राजनीतिमा भने परिपक्व हुन नसकेको देखिन्छ । उनमा बहकिने स्वभावका कारण यस्ता अभिव्यक्तिहरु आउने गरेको उनीनिकटहरु बताउँछन् ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह