Logo

बिजनेस होम

फरच्युना हेल्थ केयरद्वारा सिरिन्ज उत्पादन सुरु


GDP नेपाल
   ७ बैशाख २०८१, शुक्रबार


काठमाडौं। उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले सिरिन्ज उद्योग सञ्चालनमा ल्याएको छ। ललितपुरको चुनिखेलमा राणा समूहले फरच्युना हेल्थ केयर प्रालिमार्फत सिरिन्ज उत्पादन सुरु गरेको छ।

मुलुकको औद्योगिक विकास, आयात प्रतिस्थापन तथा गुणस्तरीय उत्पादनको प्रतिवद्धतासहित फर्चुना हेल्थकेयरले स्वदेशी अस्पताल, क्लिनिक तथा निजी प्रयोजनका लागि आवश्यक सिरिन्जहरूको उत्पादन सुरू गरेको हो।

बिहीबार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलगायतले राजधानीमा आयोजित कार्यक्रममा फर्चुना हेल्थकेयर प्रालिद्वारा उत्पादित फर्चुना ब्राण्डका सिरिन्ज सार्वजनिक गरेका हुन्।

फर्चुना हेल्थकेयरले एक एमएलदेखि ६० एमएलसम्मका निडलसहितका सिरिन्जहरू तथा इन्सुलिन सिरिन्ज लगायतका उत्पादनहरू बजारमा ल्याएको छ।

कम्पनीले चाँडै नै आइभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युब, आइभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आइपी, गज, आइभी सेट, युरिन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी गराएको छ। सबै उत्पादनहरूको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिन्जको तुलनामा केही कम रहेको कम्पनीको दाबी छ।

उद्योग स्थापना तथा उत्पादन विविधीकरणका लागि ८० करोड रूपैयाँ पुँजी राखेको फर्चुना हेल्थकेयर प्रालिले हालसम्म ५० करोड रूपैयाँ खर्च भइसकेको जनाएको छ। कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जिएमपी पूरा गरेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि प्रक्रिया अघि बढिसकेको जनाएको छ।

नेपाली बजारमा वार्षिक ५८ करोड रूपैयाँको सिरिन्ज आयात भइरहेको र ती मध्ये अधिकांश उत्पादन गुणस्तरीय नहुँदा स्वास्थ्यकर्मी र बिरामीले दुःख पाइरहेको अवस्थालाई अन्त्य गर्न फर्चुना ब्राण्डका सिरिन्ज प्रतिवद्ध रहेको कम्पनीका अध्यक्ष भवानी राणाले बताइन्।

उनका अनुसार कोभिड महामारीपछि मेडिकलजन्य वस्तु उत्पादनमा आत्मनिर्भर बन्नैपर्छ भन्ने सन्देशलाई आत्मसात गर्दै फर्चुना सिरिन्जलगायतका उत्पादनमा अघि बढेको हो।

उद्योगमा भवानी राणाका साथै उद्योगी भरतराज आचार्य, ईश्वर जिसी, बाबुकाजी कार्की लगायतको लगानी छ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह