चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले भैतिक पूर्वाधारका क्षेत्रमा भएको तुलनात्मक अध्ययन नै नगरी देशमा केही विकास नभएको नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् ।
उनले पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
सोमबार पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’ शिलान्याश गर्दै पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने विस्वास व्यक्त गरे ।
‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,’ प्रधानमन्त्री सचिवालयले उल्लेख गरको छ । ‘यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रबद्र्धधन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।’
यस्तै, दाहालले पछिल्लो दुई दशकमा देशमा निकै भैतिक पूर्वाधारका क्षेत्रमा प्रगती भएको बताएका छन् । उनले देशमा भएको विकासको तुलनात्मक अध्ययन नै नगरी केही विकास नै नभएको जस्तो गरी नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् ।
‘विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,’ प्रधानमन्त्रीले थप भनेका छन्, ‘नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।’
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।
दाहालले भनेका छन्, ‘सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।’
सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गरे । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने जिकिर गरे ।
‘पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,’ उनले थपे, ‘यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।’
प्रतिक्रिया