Logo

अर्थनीति

प्रचण्डलाई ‘बेत बसिसकेको गाई’को संज्ञा दिँदै बाबुरामले भने, ‘दूधको आशा गर्ने नै दोषी हो’


gdpnepal
   २ जेष्ठ २०८१, बुधबार


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल नेतृत्वको एमाले माओवादी र रास्वपा गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशको संरचनात्मक समस्या हल गर्न सक्दैन भन्ने प्रष्ट भएको टिप्पणी गरेका छन् ।

भट्टराईले भनेका छन् , “सरकारको नीति–कार्यक्रममा देशलाई भ्रष्टाचार , गरीबी, वेरोजगारी,परनिर्भरताको दुष्चक्रबाट निकालेर केही दशकभित्र स्वाधीन र विकसित अवस्थामा फड्को हान्ने कुनै दूरदृष्टि,प्रतिबद्धता र कार्यक्रम छैन ।”

उनले प्रचण्डबाट कुनै अपेक्षा गर्न नसकिने निष्कर्षमा पुगेको उल्लेख गर्दै भने, “ वेत बसिसकेका गाईहरूबाट दूध आशा गर्नु आशा गर्ने कै दोष हुन्छ कि ?”

सामाजिक सञ्जालमा बाबुराम भट्टराईको पोष्टः

सामान्यतः ५ बर्षनिम्ति निर्वाचित सरकारले आफ्ना पहिला दुइ बर्षमा रूपान्तरणकारी नीति तथा कार्यक्रम र बजेट ल्याएर गुणात्मक परिवर्तनको प्रत्याभूति गराउने प्रयत्न गर्छ। तर प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको दुइ बर्षको दिशाहीन यात्रा र कछुवा गतिको पारा हेर्दा यसले देशका गम्भीर संरचनात्मक समस्या हल गर्न सक्दैन भन्ने प्रष्ट हुन्छ।

हिजो ठाउँ कुठाउँ ‘क्रमभंग’ र ‘छलांग’ को गफ दिने प्रचण्डले नेतृत्व गरेको सरकारको नीति–कार्यक्रममा देशलाई भ्रष्टाचार , गरीबी, वेरोजगारी,परनिर्भरताको दुष्चक्रबाट निकालेर केही दशकभित्र स्वाधीन र विकसित अवस्थामा फड्को हान्ने कुनै दूरदृष्टि,प्रतिबद्धता र कार्यक्रम छैन ! खाली सामान्य मात्रात्मक सुधार वा १९ बाट २० गर्ने कुरा मात्र छन्।

उदाहरणकोनिम्ति, आर्थिक रूपान्तरणको सबभन्दा महत्वपूर्ण क्षेत्र कृषिमा दश लाख हेक्टर भन्दा बढी जमीनमा सिंचाइ सुविधा पुर्याउनु छ तर सरकारको बार्षिक लक्ष नै पाँच हजार हेक्टर छ ! त्यस्तै देशमा बर्षेनी ५–७ लाख भन्दा बढी नयाँ रोजगारी आवश्यक छ तर सरकार केही हजारको मात्र कुरा गर्छ।

त्यसैले वेत बसिसकेका गाईहरूबाट दूध आशा गर्नु आशा गर्ने कै दोष हुन्छ कि?

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह