काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।
बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी जानकारी गराइएको छ ।
हाल बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया