Logo

अर्थनीति

नयाँ ‘समीकरण विरोधी’ विष्णु पौडेल अर्थमन्त्री बन्ने सम्भावना क्षीण !


gdpnepal
   १९ असार २०८१, मंगलबार


काठमाडौं । नयाँ सत्ता समीकरण निर्माण भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मुख्य दुई पार्टीको सरकार बन्ने निश्चित भइसकेको छ ।

ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ मन्त्रालय पाउने चर्चा छ भने कांग्रेसले उपप्रधानमन्त्री, गृहमन्त्रीसहित १० मन्त्रालय पाउने सहमति छ ।

एमालेबाट ओली प्रधानमन्त्रीमा चयन भए अर्थमन्त्री को बन्छ भन्ने पनि उत्तिकै चासोका साथ हेरिएको छ ।

यसअघि तीनपटक अर्थमन्त्री भइसकेका विष्णु पौडेल उपप्रधानमन्त्रीका सबैभन्दा बलिया दावेदार हुन् ।

केपी ओली नेतृत्वको सरकारमा दुईपटक र प्रचण्ड सरकारको नेतृत्वमा एकपटक अर्थमन्त्री भइसकेका पौडेल एमालेका शक्तिशाली उपाध्यक्ष पनि हुन् ।

पार्टीभित्र बलियो पकड राख्दै आएका पौडेलले ओलीलाई निर्विकल्प नेताका रुपमा सार्वजनिक अभिव्यक्ति दिँदै आए पनि उनी प्रचण्ड नेतृत्वको सरकारकै निरन्तरताको पक्षमा थिए ।

ओली र देउवाबीच समझदारी गराउने काममा पौडेल छायाँमा परेको र महासचिव शंकर पोख्रेल हावी भएका कारण उनको अर्थमन्त्री बन्ने सम्भावना कमजोर देखिएको हो ।
एमालेमा ओलीपछिको उत्तराधिकारीमा पौडेल र पोख्रेलबीच रस्साकस्सी छ । पोख्रेललाई ओलीले च्यापेपछि पौडेलले संस्थापन पक्षधर नेताहरुलाई जिल्ला तथा प्रदेश अधिवेशनमा छानीछानी हराइरहेका कारण ओली उनीप्रति सशंकित पनि छन् ।

पौडेलको अर्थमन्त्रीमा सम्भावना कमजोर हुनुको अर्को कारण भने पूर्व राष्ट्रपति विद्या भण्डारीको सन्निकट सक्रियता पनि हो ।

पौडेल भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने अभियानमा सुषुप्त रुपमा जोडिए पछि ओलीले त्यसलाई रुचाएका छैनन् ।

एमाले र माओवादी एक भएर बनेको नेकपा कालमा महासचिव रहेका पौडेलले ओली र प्रचण्डबीचको विवादमा कठिन समयमा ओलीको साथ दिएका थिएनन् । जसका कारणले पनि ओली उनीसँग त्यति सकारात्मक छैनन् ।

एमालेमा अर्थमन्त्रीका लागि पौडेलसरह अर्को दावेदार भने सिनमा देखिएका छैनन्, जसका कारण उनको पल्लाभारी हुनसक्ने सम्भावना पनि उत्तिकै छ ।

सुरेन्द्र पाण्डे, युवराज खतिवडालगायत पूर्व अर्थमन्त्रीहरु संसद सदस्य नरहेका कारण मन्त्री बन्नसक्ने सम्भावना छैन भने हाल प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य रहेका एमाले नेताहरुमा अर्थतन्त्रको गहिरो ज्ञान कमैमा मात्र देखिन्छ ।

ओलीले त्यस्तो अवस्थामा गृह मन्त्रालय आफ्नो पार्टीले लिएर अर्थ मन्त्रालय कांग्रेसलाई दिनसक्ने सम्भावना पनि उत्तिकै छ ।
एमालेमा पौडेललाई बाइपास गरेर पृथ्वी सुब्बा गुरुङलाई अर्थमन्त्री बनाउनसक्ने सम्भावना रहे पनि उनी शंकर पोख्रेलसँग नजिक नरहेका कारण त्यति सहज भने देखिँदैन ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट हालै मनोनित डा. अञ्जान शाक्य नै अर्थमन्त्री बनिन् भने पनि आश्चर्य मान्नुपर्ने देखिँदैन ।

ओलीसँग उनको निकटताका कारणले मात्र नभै विगतमा निजी क्षेत्रको नेतृत्वमै रहेकी र कुटनीतिको समेत अनुभव रहेकी शाक्यलाई ओलीले अर्थ राज्यमन्त्री बनाएर मन्त्रालय आफैंसँग राख्न पनि सक्छन् ।

यसो गर्दा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रुपमा युवारज खतिवडा नियुक्त भइ उनले नै अर्थ मन्त्रालय चलाउन सक्छन् ।

प्रकाशित : १९ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह