Logo

अर्थनीति

सुरक्षा कोषमा साढे ५७ अर्बभन्दा बढी योगदान रकम संकलन


GDP नेपाल
   २१ असार २०८१, बिहिबार


काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या १४ लाख ५६ हजार नाघेको छ । योगदान रकम साढे ५७ अर्बभन्दा बढी संकलन भएको तथ्यांक कोषमा तथ्यांक छ ।

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न थालेको थियो । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा साढे ५७ अर्बभन्दा बढी संकलन भएको हो ।

वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्र काम गरिरहेकाहरूले कोषमा योगदान रकम संकलन गर्ने क्रम बढेसँगै योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि भएको कोषले जनाएको छ ।

कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढ्दै गएपछि योगदान रकम पनि बढेको हो । सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकम ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ पुगेको सामाजिक सुरक्षा कोषले बताएको छ ।

जेठ महिनामा मात्रै दुई अर्ब ५२ करोड ८१ लाख रुपैयाँ संकलन भएको कोषले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैशाखसम्म योेगदान रकमबापत ५५ अर्ब तीन करोड रुपैयाँ संकलन भएको थियो ।

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म योगदानबापत ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्षको ११ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

कोषले सातवटै प्रदेशका स्थानीय तहसँग सम्झौता गरी अघि बढ्ने क्रममा योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि हुँदै गएको हो ।

 

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह