काठमाडौं । अघिल्लो वर्षको संसदीय उपनिर्वाचनमा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सघाएका पूर्व कांग्रेस नेता गोविन्दराज जोशी अन्ततः भ्रष्टाचारी सावित भएका छन् ।
सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको छ ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको फैसलालाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।
विशेष अदालतले नै जोशीलाई डेढ वर्षको कैद सजाय हुने गरेको फैसलालाई पनि सदर गरेको छ ।
जोशीले तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।
रास्वपासँग भएको वार्तामा जोशीले उक्त प्रतिबद्धता जनाएपछि त्यतिबेलै भ्रष्टाचारीको समर्थन लिएको भन्दै रास्वपाको आलोचना भएको थियो ।
जोशीसँगको वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्ले, रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए ।
त्यसअघि नै विशेष अदालतबाट भ्रष्टाचारी सावित भइसकेका जोशीसँग वार्ताका लागि जोशीसहित छोरा दीपकराज जोशी वार्तामा सहभागी थिए ।
प्रतिक्रिया