काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १६.४४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी पनि घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीले ३६ अर्ब २७ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको थियो ।
त्यस्तै, वित्तीय आम्दानी पनि ७ अर्ब ७७ करोडबाट घटेर ६ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने ३७ करोड २९ लाखबाट बढेर ६७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष ४४ रुपैयाँ रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५५२ रुपैयाँ ४३ पैसा रहेको छ ।
प्रतिक्रिया