Logo

बिजनेस होम

पुष्प प्रवर्द्धन नीति पुनर्लेखन गर्न व्यवसायीको माग


gdpnepal
   २८ भाद्र २०८१, शुक्रबार


काठमाडौं । निजी क्षेत्रले पुष्प प्रवर्द्धन नीति पुनर्लेखन गर्न व्यवसायीको माग गरेको छ । ९ अर्ब लगानी भइसकेको फ्लोरिकल्चर क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको भन्दै फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले नीति पुनर्लेखनसहित लागू गर्न माग गरे ।

एशोसिएसनको ३२ औं साधारणसभाका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष तामाङले यसअघि ल्याइएको पुष्प प्रवर्द्धन नीति कार्यान्वयन हुन नसकेको तथा हाल यसको पुनर्लेखन आवश्यक रहेको बताए ।

कृषि क्षेत्रलाई प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा राखिएपछि अपेक्षाकृत काम हुन नसकेको उल्लेख गर्दै उनले थ्रेसहोल्ड हटाउन माग गरे । आफूहरुले सहज रुपमा कृषि कर्जा पाउन नसकेको तथा आयातित फूलको नियमन कमजोर हुँदा स्थानीय व्यवसायी मारमा परेको उनको भनाइ छ ।

अध्यक्ष तामाङका अनुसार ९ अर्ब लगानीमा देशका कूल ५२ जिल्लाका २६० हेक्टर क्षेत्रमा हाल व्यावसायिक पुष्पखेती गरिएको छ ।

मुलुकभर यस क्षेत्रमा १ हजार १७६ व्यवसायी रहेको र यस क्षेत्रबाट कुनै वर्ष १९ करोडसम्मको निकासी भएको इतिहास रहेको उल्लेख गर्दै हाल ४४ हजार जनाले रोजगारी पाएको उनले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यवसायीले उठाएका नीति निर्माणका समस्या सम्बोधन गर्न राज्यलाई आग्रह गरे । आन्तरिक उत्पादनमा संरक्षणका निमित्त कृषि कर्जामा देखिएका समस्या समाधान हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हावापानी माटो सुहाउँदो व्यवसाय गर्न आग्रह गरे । सरकारले चाँडै नै कृषि ऐन तर्जुमा गर्नुपर्ने उल्लेख गर्दै उनले बीउबिजन लगायतको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह