काठमाडौं । प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँले आइतबार माइतीघरमा केहीबेर सांकेतिक प्रदर्शन गरे । कुनै तडकभडक नगरी सांसद बजगाइँसहित सीमित संख्यामा रहेका प्रदर्शनकारीले नेपाल आउने पर्यटक र नेपालबाट बाहिरिने श्रमिकको पक्षमा गरेको यो प्रदर्शन राजनीतिक उद्देश्यप्राप्तिका लागि थिएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका नाउँमा दैनिक १० घन्टा बन्द गरिएको र त्यसबाट सिर्जित महँगो हवाई भाडाको मार सर्वसाधारण र नेपाली पर्यटन क्षेत्रलाई नै परेको भन्दै बजगाइँले सडकबाटै आवाज उठाएका हुन् ।
गोरखा १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बजागाइँँ पुराना पर्यटन व्यवसायी पनि हुन् । उनले संसदमा पनि पर्यटन क्षेत्रका जल्दाबल्दा विषयमा धारणा राख्दै आएका छन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले हवाई भाडा नियन्त्रण गर्न नसकेको र यसबाट प्रत्यक्ष रूपमा खाडी राष्ट्र जाने मजदुर समस्यामा परेकाले सांकेतिक विरोध प्रदर्शन गरिएको बताए ।
“यो सांकेतिक प्रदर्शनमात्र हो, आवश्यक परे अहिलेभन्दा ठूलो जुलुस पनि निकाल्न सकिन्छ,” उनले भने, “महँगिएको हवाई भाडाले नेपाली पर्यटन क्षेत्रमात्र नभै अर्थतन्त्र नै धरासायी बन्ने अवस्थामा सरकारको ध्यानाकर्षण गराउन चाहेको हुँ, आवश्यक निर्णयका लागि सरकारसँग बसेर छलफल गर्न तयार छु ।”
प्रतिक्रिया