काठमाडौँ । २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना हुने भएको छ । मंसिर २० देखि २४ गतेसम्म होटेल हायात ग्राउन्ड, बौद्धमा मेला आयोजना गरिने भएको हो ।
नेपाल हस्तकला महासंघका अनुसार मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्ताको रुपमा भारत, चीन, पाकिस्तान, बंगलादेशदेशका व्यापारीहरुको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघहरु र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ ।
मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्रीहरु प्रर्दशनी तथा विक्रीमा राखिने महासंघले जनाएको छ ।
त्यस्तै, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । त्यसैगरि मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई निशुल्क स्टल प्रदान गरिने जनाइएको छ ।
यसका साथै, १९औं संस्करणको हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) अन्तर्गत (क) परम्परागत विधा तर्फ लोपोन्मुख अवस्थामा रहेको “बुट्टेनली” र ख० समसामयिक विधा तर्फ “गलैंचा बुनाई” मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरिने छ । सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने छ । साथै प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार प्रथमलाई रु. ५० हजार, द्वितीयलाई रु. ३० हजार र तृतीयलाई २० हजार तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र लगायत पदक प्रदान गरिने छ ।
साथै मेलाको अवसरमा आर्थिक वर्ष २०८०/८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुयाउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ । महासंघका अनुसार मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सगुन दिई चाँदीको फेम सहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रतिक्रिया