Logo

मुख्य समाचार

अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, छानबिन गर्न यूनियनको माग


GDP नेपाल
   २७ कार्तिक २०८१, मंगलबार


दोलखा । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् ।


गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्‍याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी यूनियनले जनाएको छ ।


युनियनले हिजो सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्वपूर्ण सामग्रीहरू शंकास्पद र रहस्यमयी ढङ्गबाट चोरी भएको जनाउँदै आवश्यक छानविन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोध समेत गरेको छ ।

‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौं करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ ।
यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटक–पटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोशीको सार्वजिनक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानविन गरी दोषीउपर कडा भन्दा कडा कानुनी कारबाहीका लागि यस यूनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।


खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए । चोरी भएका ती सामग्रीहरू करोडौं मूल्य पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ ।


युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठ र महासचिव राजकुमार श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरुको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद रहेको युनियनको ठहर छ ।
असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मतसम्भार भइरहेको छ । क्षतिग्रस्त स्थानको सरसफाई र कम क्षतिको सेटलिन बेसिनको मर्मत कार्य ‘डे वर्क्स’मा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धिधत रोल्वालिङ खोला जलविद्युत् आयोजनाका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीबाट भइरहेको छ ।

प्रकाशित : २७ कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह