काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारका लागि जाने नेपालीले विशेष सुविधा पाउने भएका छन् ।
नेपालबाट उपचारका लागि अपोलो जाने बिरामीको विमानस्थलबाट अस्पतालसम्म जाने–आउने सवारी सुविधा अस्पतालले नै उपलब्ध गराउने भएको छ भने नेपाली विरामीलाई रजिष्ट्रेशन शुल्क पनि अस्पतालले छुट गर्ने बताएको छ ।
अस्पतालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी नेपाली विरामीको बढ्दो चाप र आवश्यकीय सुविधालाई बिचार गरी यस्तो सेवाको घोषणा गरेको हो ।
विदेशी नागरिकलाई अतिरिक्त शुल्क लाग्दै आए पनि नेपालीलाई भने भारतीयसरह समान शुल्क लिँदै आएको अपोलोले नयाँ व्यवस्थाअनुसार नेपालीका लागि थप सुविधाको घोषणा गरेको छ । कार्यक्रममा अपोलोका वरिष्ठ चिकित्सकहरुले आफ्नो अस्पतालमा भारतीय र नेपाली बिरामीका लागि समान शुल्कमा उपचार र सुविधा उपलब्ध गराएको तर नेपालबाट त्यहाँ पुग्ने विरामीका लागि थप सेवा उपलब्ध गराउन थालेको बताएका हुन् ।
विभिन्न स्वास्थ्य समस्या लिएर हरेक महिना तीन सयभन्दा बढी विरामी नेपालबाट अपोलो अस्पताल पुग्ने गर्दछन् । खासगरी मुटु र कलेजो ट्रान्सप्लान्टका क्षेत्रमा ख्याती कमाएको अपोलोमा विरामीहरुले विश्वस्तरमा पछिल्लो पटक विकसित भएका उपकरणसहित सेवा पाउने गरेको चिकित्सहहरुको दाबी छ ।
उनीहरुका अनुसार नेपालमा उपलब्ध हुन नसकेका र भए पनि पाउन कठिन बनेका सेवा र सुविधा लिन नेपाली विरामी त्यहाँ पुग्ने गरेका छन् ।
अपोलोका डाइरेक्टर मेडिकल सर्भिस एण्ड सिनियर कन्सलटेन्ट युरोलोजी डा.सुब्रमन्यमले पछिल्लो समय नसर्ने रोगबाट मानिसहरु ग्रसित हुने क्रम बढेको खासगरी क्यान्सर, मुटुरोगसँग सम्बन्धित रोगहरुसँगै मधुमेह र उच्च रक्तचापका कारण मिर्गौला रोग बढ्न थालेको बताए ।
उनले भने, “यस्ता रोगमा जति छिट्टो पहिचान हुन्छ त्यति नै छिटो र कम लागतमा उपचार गर्न सकिन्छ ।”
कार्यक्रममा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. सन्दीप गुलेरियाले मिर्गौला फेलपछि मानिसहरुसँग कि डायलसिस कि प्रत्यारोपणको विकल्प हुने र त्यो दुवै सुविधा आफ्नो अस्पतालमा रहेको बताए ।
डायलोसिसभन्दा मिर्गौला प्रत्यारोपणले मानिसको जीवन लम्बिने र मिर्गौला दोस्रो या तेस्रो पटक पनि गर्न सकिने उनको भनाइ थियो । मिर्गौला रोगबाट बच्न मधुमेह र उच्च रक्तचापलाई नियन्त्रण गर्नु पनि र सदैव स्वस्थ जीवनशैली अपनाउनु पर्ने उनको सुझाव समेत छ ।
अस्पतालका सिनियर कन्सलटेन्ट अर्थोपेडिक्स डा. एस. गुलाटीले पछिल्लो समय घुडा प्रतिस्थापन गर्नु पर्ने बिरामी बढ्दै गएको र त्यसको शल्यक्रियाको सुविधा आफ्नो अस्पतालमा रहेको जानकारी गराए ।
गुलाटीले भने, “कुल घुँडाका समस्या बोक्ने बिरामी मध्ये ३० प्रतिशत घुडा प्रतिस्थापनको उपचारमा रहन्छन् । तर हाम्रा लागि यो काम धेरै सहज र सफल उपचार पद्दतीका रुपमा आएको छ ।”
प्रतिक्रिया