सरकारले खेलकुद क्षेत्रमा लगानी क्रमशः बढाउँदै गएको छ । चालु आर्थिक वर्षमा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड ४८ लाख बजेट छुट्याइएको छ, जुन गत वर्षभन्दा ६२ करोड ९ लाखले धेरै हो । मन्त्रालयको कुल बजेटको ८५ प्रतिशत खेलकुदका क्षेत्रमा छ ।
खेल बजेटमध्ये सबैभन्दा धेरै प्राथमिकता क्रिकेटले पाएको छ, जसका लागि १ अर्ब ३० करोड बजेट छुट्याइएको छ । काठमाडौंको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएका छन ्। यो सुधारको सकारात्मक सुरूवात हो ।
केही वर्ष अलमलमा परेको चितवनको भरतपुर क्रिकेट रंगशाला पनि निर्माणको चरणमा छ । यो रंगशाला पनि राष्ट्रिय गौरवको आयोजनामा छानिएर तीनै तहका सरकारले मिलेर अगाडि बढाएका छन् । कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम भइरहेको छ । खेलकुदमा राज्यको सबैभन्दा प्राथमिकतामा क्रिकेट नै देखिएको छ भन्दा फरक पर्दैन ।
अन्य खेलसँग सम्बन्धित काम पनि हुन पर्ने जति नभएको होला । तर, केही काम भने भइरहेकै छ ।
कर्णालीको सुर्खेतमा अर्को वर्ष हुने १० औँ राष्ट्रिय खेलकुदका लागि तयारी धमाधम भइरहेको छ । बजेटको अभाव नहुने हो भने यो प्रतियोगिताले खेल क्षेत्रमा अर्को आशा जगाउने छ । अहिले सरकारले ८० वटा खेलका लागि लगानी गर्ने भनेको छ ।
खेलकुदमा राज्यको लगानी पूर्वाधार विकासमा मात्रै होइन । अन्य पनि धेरै छन् । सम्बन्धित खेलका लागि आउने बजेट र पाउने सेवा सुविधा छँदैछन् ।
अहिले निजी क्षेत्रहरूको आकर्षण पनि खेलकुद क्षेत्रमा बढ्दै गएको छ । यो वर्ष नेपालले दोस्रो पटक टी–२० विश्वकप क्रिकेट खेल्यो । केही दिनअघि मात्रै यू–१९ महिला क्रिकेट विश्वकपका लागि छानिएर फर्कियो । फुटबल र भलिबलमा पनि अन्तर्राष्ट्रिय र स्थानीय प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् ।
अन्य खेलले पनि अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरिरहेका छन् । कतिपय खेलमा भने राज्यको लगानी भन्दा प्रतिफल धेरै छन् । राज्यले बेवास्ता गरेका खेलाडीहरू अन्तर्राष्ट्रिय अवार्ड लिएर फर्किएका छन् । यी क्षेत्रका लागि राज्यले सोच्न जरुरी छ । लगानी बढाउन आवश्यक छ । राज्यले लगानी गरे अनुसार नै प्रतिफल पाउँदै जाने हो । कतिपय लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ला । तर, त्यसका लागि सुरुमा राज्यले लगानी गरेर आधार खडा गर्नुपर्छ ।
हामीले आज गर्ने लगानी भनेको भोलिको प्रतिफलको लागि हो । सरकार मात्रै लागेर भने पुग्दैन सँगसँगै सम्बन्धित खेलकुदका जिम्मेवार निकायले पनि योजना बनाएर लाग्न जरुरी छ । राम्रा योजना निर्माणमा हामीले ध्यान दिनु पर्छ । हामीले राम्रो योजना दिने हो भने सम्बन्धित निकायले त्यसमा चासो दिन्छ र लगानी पनि गर्छ । हामी नै अलमलिन पुग्यौँ भने अगाडी जान सकिँदैन ।
नेपाली क्रिकेटको व्यावसायिकता र नयाँ आयाम
नेपाल क्रिकेट संघ (क्यान) पहिलो पटक आफैँ नेपाल प्रिमियर लिगको आयोजना गरेको छ । क्यानले आयोजना गरेको यो प्रतियोगीता घरेलु तथा अन्तर्राष्ट्रिय स्तरकै सबैभन्दा ठूलो प्रतियोगिता हो ।
नेपाल प्रिमियर लिगलाई भव्य बनाउन क्यानका सम्पूर्ण साथीहरू एक वर्षदेखि अनवरत लागिरह्यौं । हामी यसरी अगाडि बढ्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया र साथ सहयोग पाएका छौं । आगामी दिनमा यो नेपाल प्रिमियर लिगलाई र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा हामी महत्वपूर्ण रूपमा चिनाउन चाहन्छौं ।
२० वर्षअघि नेपाली क्रिकेटरहरूको जुन पारिश्रमिक थियो अहिले धेरै फेरबदल भइसकेको छ। क्रिकेटर ३०÷४० जनामा मात्रै अब सीमित रहने छैनन् । क्यानले जिल्ला जिल्लामा पु¥याउने खाका कोरिरहेको छ ।
यसभन्दा अगाडि पनि एभरेस्ट प्रिमियर लिग, धनगडी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरि तीनवटा फ्रेन्चाइज क्रिकेट लिग भएका छन् । त्यसबखत केही टिमले बाहेक धेरैले आर्थिक रूपमा फाइदा उठाउन सकेनन् । यस पटक लगानी पनि बढी भएको छ । नेपाल क्रिकेट संघले एनपीएल किन भिन्न तरिकाले सञ्चालन गर्ने प्रयास गरिरहेको छ ।
अहिले नेपाल क्रिकेट संघ र टिमहरूले जुन लगानी गरेका छन् त्यो लगानी हेर्दा सयअघिको प्रतियोगिताको लगानी निक्कै कम देखिन्छ । हामीले अहिले मात्रै एउटा प्रतियोगिता आयोजना गर्न लागिरहेका हैनांै । देशमा नै एउटा खेलकुदको संस्कार बसाल्नुपर्छ भनेर अगाडी बढेका छौं । अहिले बनेका फ्रेन्चाइज टोलीहरूलाई हामी प्रदेश र जिल्लासम्म जोड्ने प्रयासमा छौँ । हरेक फ्रेन्चाइज टोलीले आफ्नै एकेडेमी खोल्न सक्छन् ।
अहिलेका आठ वटा फ्रेन्चाइज टोलीमध्ये तीनवटा प्रदेशका नाममा र बाँकी सहरका नाममा जोडिएका छन् । नेपाल क्रिकेट संघले लामो छलफलपछि यी टोली बनाएको हो । तर, हामीलाई थाहा जति पनि टोलीहरू छन्, त्यसका लगानी कर्ताले केही वर्षसम्म यी टोलीबाट आर्थिक लाभ पाउन सक्नुहुन्न । हामीले टोली लिने र लिन चाहने लगानी कर्ताहरूलाई तीनदेखि चार वर्षसम्ममा गर्नु पर्ने लगानीका बारेमा प्रस्ट बनाइसकेका छौं । यी यी क्षेत्रमा ताईहरूले लगानी गर्नुपर्छ भनिसकेका छौं ।
नेपाल प्रिमियिर लिगका लागि टिम किन्न १६ वटा लगानी कर्ताले इच्छा देखाउनु भएको थियो। यो भनेको नेपाली क्रिकेटले प्राप्त गरेको ठूलो उपलब्धि हो। हामीले ६ वटा टोलीबाट सुरु गर्ने सोचेका थियौँ। तर हामीले यस्तो उत्साह देखेपछि ८ बनायौं। हामीले देशका सबै ठाउँलाई समेट्ने प्रयास पनि गरेका छौं । भविष्यमा जुन लगानीको कुरा छ सम्पूर्ण फ्रेन्चाइज टोलीका लगानी कर्ताहरूलाई धन्यवाद भन्नुपर्छ । राम्रो पक्ष अर्को के पनि हो भने ८ वटा फ्रेन्चाइजको साथसाथै अर्को ८ वटा फ्रेन्चजीहरू पनि बाहिर हुनुहुन्छ । जसले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज लिनको लागि र फ्रेन्चाइज टोलीसँग जोडिन रुची देखाएका छन् ।
पहिलो संस्करणपछि हामीलाई पनि नयाँ खाका के आउनेछ भने फ्रेन्चाइजमा मोडलमा एउटा टिमले कति खर्च गरेर आफूलाई टिकाउन सक्छ हामीले खाका बनाएका छौँ, जुन १० वर्षसम्मको छ । १० वर्षको अवधिसम्म हरेक वर्ष गरेको लगानीको आम्दानी कसरी फिर्ता पाउँछ भनेर हामीले आकलन गरेका छौं ।
सुदूरपश्चिमका हरेक क्रिकेट फ्यानले सुदूरपश्चिम हाम्रो क्रिकेट टिम हो भनेर जर्सी किनुन् । जस्तो, आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर यो टिम सबैभन्दा बढी ब्राण्ड भ्याल्यु बोकेको टिम हो ।
हामीले आर्थिक रूपमा गरेको लगानीको प्रतिफल ग्रासरुट क्रिकेटसम्म पर्ने छ । भोलि बच्चाहरूले त्यो ठाउँको टोलीसम्म जोडिएर क्रिकेटमा आबद्ध हुनेछन् । यसको प्रभाव लामो समयसम्म रहिरहनेछ । अहिले लगानी गरेर आजको भोलि मात्रै फाइदा हेरेर हुँदैन ।
नेपाल क्रिकेट संघको लगानी मैदानमा मात्रै होइन मैदानभन्दा बाहिरका गतिविधिबाट पनि देख्न सक्नुहुनेछ । हामीले अहिले नेपाल प्रमियर लिगलाई हामीले आत्मनिर्भर बनाउने हिसाबले अगाडि बढाएका छौं । सबैभन्दा ठूलो स्टेकहोल्डर भनेको हाम्रो लगानीकर्ता हो । जसलाई हामीले पहिल्यै भनिसकेका छौं, पहिलो तीन वर्ष फाइदा लिन सक्नुहुन्न । थाहा भएरै पनि उहाँहरूले सहयोग गर्नुभएको छ ।
खेलकुदको आर्थिक प्रभाव र रोजगारी
अब खेलकुदका गतिविधि बढ्दै जाँदा अन्य क्षेत्रमा पनि यसको असर देखिन थाल्छ । यसको सकारात्मक असर रोजगारीमा पनि देखिने छ । खेलाडीहरूले त खेल्ने मात्रै हो । अन्य तयारीका लागि अन्य व्यक्तिहरूका लागि रोजगारी सिर्जना हुन्छ । राज्यले लगानी बढाउँदै जाँदा खेलकुदका लागि पूर्वाधारहरू बन्दै जानेछन्। हामीले आम्दानी गरेपछि जिल्ला जिल्लामा लगानी बढाउने छौं । त्यहाँ पनि नयाँ रोजगारी बढ्छ ।
आज केन्द्रका उत्कृष्ट २५ खेलबाडीहरूले पाँच वर्ष खेल्दा जीवन निर्वाहका लागि चिन्ता नगर्नु पर्ने अवस्था बनिसकेको छ । यो अवस्था भोलि प्रदेश र जिल्लामा पनि विस्तार हुन्छ ।
हामी कुनै पनि एउटा प्रतियोगिता आयोजना गरेर यसको नाफाघाटा मात्रै हिसाब गर्न सीमित हुन चाहँदैनौं । यसको प्रभाव राष्ट्रकै विकासमा परोस् भनेर सोही अनुसारको लगानी चाहन्छौं । अहिले क्रिकेट एउटा उचाइमा पुगेको छ । यसले अरू खेललाई पनि प्रभाव पार्न सक्छ ।
आज भलिबलका कवर्ड हल भरिन थालेको छ । फुटबलमा रंगशाला पहिल्यैदेखि दर्शकले भरिन्छ । खेलकुदले पर्यटकलाई पनि आकर्षण गर्छ । नेपालमा अरु धेरै इभेन्ट्सहरू छैनन् । यस्ता खेलहरू नेपाली दर्शकले कुरेर बस्छन् । यो क्रम बिस्तार हुँदै जानेछ ।
आगामी वर्षहरूमा काठमाडौं बाहिर पनि प्रतियोगिता सञ्चालन गर्न सकिएको खण्डमा त्यहाँ पनि दर्शकहरू भरिभराउ हुनेछन् । पूर्वाधार तयार भइसकेपछि हामी यस्ता प्रतियोगिता काठमाडौं बाहिर पनि गर्नेछौं ।
अहिले राज्यले भौतिक पूर्वाधारमा नै लगानी गर्नु पर्ने छ । लगानी अगाडि बढाएका धेरै संरचनाहरू पूरा भइसकेका छैनन् । अझै पनि हामी राति प्रतियोगिता सञ्चालन गर्न सक्ने अवस्थामा छैनौं, अर्को वर्षको नेपाल प्रिमियर लिग फ्ल्डलाइटमा गर्न सकिन्छ भन्ने हामीलाई विश्वास छ । यसका लागि ३० करोड रुपैयाँ आवश्यक छ । यस्तै मुलपानी क्रिकेट मैदानमा पनि थप लगानीको आवश्यकता छ ।
राज्यले हाल खेलकुद क्षेत्रमा लगानी बढाएको छ र पूर्वाधारलाई राष्ट्रिय गौरवका आयोजनामा समेटेको छ । यद्यपि, यो लगानी पर्याप्त नभएकोले पूर्वाधार विकास, प्रशिक्षण, र युवा सहभागितामा अझ सुधार आवश्यक छ ।
नेपाली क्रिकेटको भविष्य
नेपाली क्रिकेटमा गत वर्षहरूमा भन्दा तुलनात्मक रूपमा लगानी बढेको छ । निजी क्षेत्र क्रिकेटमा लगानी गर्न उत्सुक देखिन्छ । खेलकुद प्रतियोगितामा राम्रो प्रायोजन प्राप्त भइरहेको छ । खेलाडीहरूमा पहिले भन्दा प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रूपमा लगानी बढेको छ । यो चाहे सेवा सुविधामा होस्, प्रशिक्षण वा व्यक्तिगत प्रायोजनमा । हिजो र आजको अवस्था पक्कै पनि फरक भइसकेको छ । तर, यस परिवर्तनलाई दीर्घकालीन रूपमा कसरी टिकाई राख्ने यो चुनौती पक्कै छ ।
नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिन्छ । युवा प्रतिभाको प्रस्फुटन, व्यावसायिक लिगको सुरुवात र अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शनले नेपाललाई आगामी वर्षहरूमा उत्कृष्ट क्रिकेट राष्ट्रका रूपमा चिनाउने सम्भावना छ ।
हामीले सञ्चालन गर्ने नेपाल प्रिमियर लिगमा पनि यसलाई ध्यान दिएका छौं । हरेक टिममा अन्तर्राष्ट्रिय प्रभावशाली खेलाडीदेखि स्थानीय प्रतिभावान खेलाडीहरू समेटिएका छन ्। यसले नयाँ आउने खेलाडीहरूलाई अनुभव र ऊर्जा दिन्छ । निखारिने मौका मिल्छ ।
राज्यले दीर्घकालीन खेलकुद रणनीति बनाउनु, बजेटको उचित व्यवस्थापन गर्नु, स्थानीय तहहरूमा खेल सुविधाहरू विस्तार गर्नु, र विभिन्न सफलता दिन सक्ने खेलहरूको पहिचान गरी ती खेलहरूको विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । खेलाडीहरूको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा र व्यावसायिक अवसरहरू पनि थप्नुपर्छ ।
खेलकुदको बहुआयामिक योगदान
खेलकुदमा लगानीले राष्ट्रको प्रतिष्ठा बढाउँछ । यसले राष्ट्रको पर्यटन प्रवद्र्धन गर्नुका साथै युवा शक्तिलाई सकारात्मक दिशामा लैजान र देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउँछ । यहाँ हुने खेलकुद गतिविधि नियाल्न विदेशी पर्यटकहरू भित्रिन्छन् । त्यसको फाइदा खेल क्षेत्रलाई मात्रै होइन अन्य क्षेत्रलाई पनि उत्तिकै हुन्छ । यो भनेको राज्यले पाउने फाइदा नै हो । हामीले खेलकुदलाई जित र हारको रूपमा मात्रै हे¥यौं भने न्याय हुँदैन ।
खेलकुदले पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, सामाजिक एकता र आत्मबलमा सकारात्मक प्रभाव पार्छ । यसले राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउँछ ।
राज्यले दीर्घकालीन सोचका साथ खेलकुदमा व्यावसायिक र संरचनात्मक लगानी गर्नुपर्छ । युवा प्रतिभा पहिचान र विकासमा ध्यान दिँदै अन्तर्राष्ट्रिय स्तरका सुविधाहरू निर्माण गर्नुपर्ने आवश्यकता छ ।
क्यान सचिव पारस खड्काको यो लेख नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वार प्रकाशित सेजन स्मारिका २०८१ बाट लिइएको हो।
प्रतिक्रिया