काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् ।
गए राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काम गरिरहेको हो ।
विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माणको काम तीब्र गतिमा काम भइरहेको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले ठूलो संख्यामा विभिन्न जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकास आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।
पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुने बताए ।
उनले भने, ‘दस घण्टा विमानस्थल बन्द गरेर निर्माणको काम तीब्र गतिमा सबै साईडमा काम भइरहेको छ । निर्धारित समय आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, त्यो भन्दा पहिला नै काम हुन्छकी भन्ने अहिलेको युद्धस्तरमा भइरहेको कामले सङ्केत गरेको छ ।’
उनले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने पनि उल्लेख गरे ।
प्रतिक्रिया