Logo

Banner-news

दसैंमा उपत्यकालाई ६० हजार खसीबोका आवश्यक, भारतीय रोकिँदा मूल्यमा चाप !


GDP Nepal
   ३० भाद्र २०७६, सोमबार


काठमाडौं । काठमाडौं उपत्यकाका लागि यस वर्षको दसैंमा करिब ६० हजार खसीबोका र च्याङ्ग्रा आवश्यक पर्ने मोटामोटी अनुमान गरिएको छ । तर, चालू आर्थिक वर्षको सुरुबाटै भारतबाट खसीबोका आयातमा कडाइ गरिँदा दसैंका बेला मूल्यमा थप चाप पर्ने देखिन्छ ।

व्यवसायीहरुका अनुसार दसैंमा काठमाडौं उपत्यकाभित्र तयारी मासुको मूल्य प्रतिकेजी १५ सय रुपैयाँ हाराहारीमा रहने अनुमान गरिएको छ । वर्षभरीमा सबैभन्दा बढी खपत हुने समयमा यसरी मूल्यवृद्धि हुँदा उपभोक्ताले थप महँगीको सामना गर्नुपर्ने देखिन्छ ।

व्यवसायीका अनुसार उपत्यकामा ५० हजार संख्यामा खसीबोका र १० हजार संख्यामा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ । दसैंलाई लक्षित गरेर अहिलेदेखि नै खसीबोका भित्रिन थालिसकेका छन् । कतिपयले गाउँबाट खसीबोका संकलन गरेर आफैं ल्याउँछन् भने सरकारले पनि आधार मूल्यका लागि खाद्य संस्थानमार्फत खसीबोका ल्याउने गर्दछ ।

विशेषगरी घटस्थापनाको दिनदेखि उपत्यकामा दसैंलाई लक्षित खसीबोका भित्रन सुरु गर्छ । व्यवसायीका अनुसार भारतीय खसीबोका ल्याउन नपाउँदा यो वर्ष २५ हजारको संख्यामा खसीबोका अभाव हुनेछ । तर, सरकार भने स्वदेशीले माग धान्ने तथा स्वदेशी किसानले उचित मूल्य पाउने भएकाले भारतीय खसीबोका परीक्षणबिना नै ल्याउन नदिने पक्षमा दृढ देखिन्छ ।

तरकारीमा विषादी परीक्षणसम्बन्धी निर्णयमा टिक्न नसकेको सरकार खसीबोकाको क्वारेन्टाइन परीक्षणका सन्दर्भमा भने अहिलेसम्म अडिग नै छ ।

यद्यपि, सरकारले खसीबोकाको आयात कडाई गरे पनि प्रहरी प्रशासनको मिलेमतोमा भारतीय खसीबोकालाई नेपाली भनेर चोरीपैठारी भने भइरहेको देखिन्छ । व्यवसायीका अनुसार अहिले पनि चोरी तस्करीबाट दैनिक ३ देखि ६ सयको संख्यामा खसीबोका भित्रिरहेका छन् ।

पशु सेवा विभागका महानिर्देशक वंशी शर्मामा अनुसार काठमाडौं उपत्यकामा वार्षिक ६ लाख खसीबोका चाहिन्छ । हाल मुलुकभर १ करोड १८ लाख खसीबोका रहेको विभागको अनुमान छ । उनका अनुसार दसैंमा बढी खपत हुने भए पनि स्थानीय उत्पादनले नै माग पूरा गर्छ ।

यता, चाडबाडलाई लक्षित गरेर सरकारले ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह