Logo

मुख्य समाचार

प्राधिकरणका कर्मचारी हड्तालमा: टाइप अप्रुभल नपाउँदा तीन हप्तादेखि भन्सारमै थन्किए मोबाइल


GDP नेपाल
   २४ पुस २०८१, बुधबार


काठमाडौं । नेपालमा दूरसञ्चार क्षेत्रको विकासमा उदारीकरणको नीतिलाई निजी क्षेत्रको समेत सहभागीता गराई प्रतिस्पर्धात्मक वातावरणमा यस क्षेत्रको विकास तथा विस्तार गर्ने र प्रोत्साहित गर्ने उद्धेश्य लिएको दुरसञ्चार प्राधिकरणको पछिल्ला दिनका कामकार्वाहीले गर्दा निजी क्षेत्र आक्रान्त बनेको छ ।

प्राधिकरणको उच्च व्यवस्थापनमा देखिएको अनियमितता, भ्रष्टाचार र ढिलासुस्तिका कारण यति खेर प्राधिकरण कमजोर बनेको छ । यसका केही समय अघि प्राधिकरणको उच्च व्यवस्थापन माथि लगाइएको मुद्दाका कारण तत्कालिन अध्यक्ष पुरुषोत्तम खनाललगाएतका उच्च अधिकारी निलम्बित भएका थिए ।

सरकारले पछिल्लो पटक भुपेन्द्र भण्डारीलाई अध्यक्षमा नियुक्त गरे पनि सोचे अनुरुपको काम हुन नसक्दा सेवा ग्राहिहरु मर्कामा परेको गुनासो बाहिरिन थालेको छ । जुन उदेश्य लिएर अध्यक्ष नियुक्त गरियो सो अनुसार प्राधिकरणले काम अघि बढाउन नसक्दा निजी क्षेत्र निरास बनेको छ । 

यसै विषयमा बोल्दै एक व्यापारिले भने ,”अहिले प्राधिकरणले आफ्ना कर्मचारीलाई काममा खटाउन सकिरहेको छैन ।”

कर्मचारीमा अराजकता बढ्दा पनि व्यवस्थापन पक्ष मुकदर्शक भएर बसेको स्वयं प्राधिकरणका कर्मचारीले बताउँदै आएका छन् । जसले गर्दा आन्तरीक एवं बाह्य क्षेत्रमा हुने गरेको काम कार्वाही समेत प्रभावित बनेका छन् । आज प्राधिकरणको काम ठप्प हुँदा विगत ३ हप्ता देखि आयात गरिएका मोबाइल सेटहरु भन्सारमा रोकिएका छन् । 

प्राधिकरणबाट समयमा टाइप अप्रुभल नपाउँदा मोबाइल सेट भन्सारमा रोकिन पुगेको एक आयातकर्ता व्यापारिले बताए । 

उनले भने ,”हामीले ३ हप्ता देखि लगातार एनटीएलाई यस विषयमा जानकारी गराउँदै आएका छौ तर प्राधिकरण यस विषयमा गम्भीर नबन्दा आज करोडौको मोबाइल भन्सारमा रोकिन पुगेको छ । अहिले स्टक पनि सकिएको छ र मोबाइलको सहज आपूर्तिका लागि पहल नहुँदा ग्राहकहरु समेत मर्कामा परेका छन् ।” 

कर्मचारी वर्गबाट भएको हड्तालका कारण भन्सारबाट छुट्याउनुपर्ने कतिपय वस्तुहरु छुटाउन समस्या भएको र हप्तौ बितिसक्दा पनि प्राधिकरणले समस्यालाई जहाँको त्यहि छोड्नु व्यवसायी र ग्राहकहरु प्रतिको बेइमानी रहेको एक व्यवसायीले गुनासो गरे ।  

“अहिले एनटीएका कर्मचारीहरु पेन डाउन भन्दै बन्द हड्तालमा उत्रिएपछि निजी क्षेत्रले आयात गरेका कतिपय मोबाइल तथा त्यस सम्बन्धि उपकरणहरु भन्सामा थन्किएर बसेको छ । यसलाई तत्काल टाइप एप्रुभल दिई भन्सार छुटाउन हामी आग्रह गर्दछौ” ती व्यापारीले भने । 

कर्मचारी युनियनको उक्साहटमा कर्मचारीले काम रोक्दा फोन हराएकादेखि टेलिकम र इन्टरनेटको गुणस्तरलाई लिएर उजुरी गर्न पुगेका सेवाग्राही निराश भएर फर्किन बाध्य भएका छन् भने दूरसञ्चार सम्बन्धी यन्त्र तथा उपकरणको स्तर तोक्ने, गुणस्तर निर्धारण तथा स्वीकृत गर्ने लगायत सबै काम रोकिएको छ। 

यस विषयमा जानकारी माग्दा प्राधिकरणको तालुकदार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आफूले यस विषयमा के भएको हो प्राधिकरणका अध्यक्षसँग थप सूचना लिने र होल्ड भएका वस्तुहरुको भन्सार सहजीकरण गर्ने बताइन्। 

प्रकाशित : २४ पुस २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह