Logo

बैंक / बिमा /शेयर

वाणिज्य बैंकहरुले कमाए ३० अर्ब ५९ करोड नाफा, कुनको कति ?


GDP नेपाल
   २९ पुस २०८१, सोमबार


काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ७.८४ प्रतिशतले बढेको हो । गत वर्ष यसै अवधिमा वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ५ महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.७८ प्रतिशतले बढेको छ।


दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३.५३ प्रतिशतले मात्रै बढेको छ।


सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ४९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ४.५२ प्रतिशतको संकुचन आएको छ।


यसैगरी चालु आर्थिक वर्षको मंसिरसम्म कुमारी बैंकले १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ, एनएमबी बैंकले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

अघिल्लो वर्षको तुलनामा कुमारीको नाफा ५३.१५ प्रतिशत, प्राइमको २.०७ प्रतिशत, एभरेष्टको ३८.२७ प्रतिशत, एनएमबीको ३१.३६ प्रतिशत, प्रभुको २३.०१ प्रतिशत, लक्ष्मी सनराइजको ८२.७० प्रतिशत, नेपाल बैंकको २४.९५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ९.४४ प्रतिशत र नेपाल एसबीआईको ९०.४८ प्रतिशतले बढेको छ। नाफा ग्रोथको हिसाबले नेपाल एसबीआई अग्रस्थानमा रहेको छ।


त्यस्तै चालु आर्थिक वर्षको मंसिरसम्म हिमालयन बैंकले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ, सिटिजन्स बैंकले ६९ करोड ४९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

अघिल्लो वर्षको तुलनामा सिद्धार्थ र माछापुच्छ्रे बैंकको नाफा बढेको छ भने हिमालयन, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स र एनआईसी एसियाको घटेको छ।
समीक्षा अवधिसम्म कृषि विकास बैंक ३५ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

प्रकाशित : २९ पुस २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह