काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार रहेको बताएका छन् ।
बेलायतको संसद (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्दै उनले दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्वयुद्धमा वेलायतको तर्फबाट युद्ध लडेर अमुल्य जीवन गुमाएको भन्दै वेलायती सरकारले उनीहरुको समर्पण र वलिदानको कदर गरी सम्मान गरेकोमा खुसी व्यक्त गरे ।
उनले भने,‘नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै हाम्रा दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार हो । दुवै देशमा जेजस्ता परिवर्तन भएपनि हाम्रो दुई देशका बीचको सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरु अझ प्रगाढ वन्दैगयो । दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्वयुद्धमा वेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमुल्य जीवन पनि गुमाए । वेलायती सरकारले उनीहरुको समर्पण र वलिदानको कदर गरी सम्मान गरेकोमा म खुशी छु ।’
नेपालमा संकट परेको बेलामा वेलायतले गरेका निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रुपमा अझ प्रगाढ बनाएको उनको भनाई छ ।
उनले भने,‘नेपालमा संकट परेको बेलामा वेलायतले गरेका निरन्तर सहयोगले हाम्रा दुई देशको सम्बन्धलाई असल मित्रका रुपमा अझ प्रगाढ बनाएको छ । म आफैं एउटा चिकित्सक र राजनीतिकर्मी भएकोले बेलायत सरकारले सन् २०१५ को विनासकारी भुकम्प र कोभिडको बेलामा गरेको सुरुका सहयोगहरु देखेको छु । त्यो बेलामा वेलायती विशेषज्ञहरुले गरेको सेवा र प्रदान गरेका उपकरणहरु हाम्रालागि अत्यन्त उपयोगी रहे । यस्ता व्यवहारका कारण हाम्रो वेलायतीहरु प्रतिको श्रद्धा अझ बढेको छ । ’
उनले वेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्ने भन्दै स्वच्छ उर्जा, पर्यटन, जलविद्युत, कृषि र प्रविधि लगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरुमा आग्रह गरे ।
दुई देशका सांसदहरुको भ्रमणको आदानप्रदान त हाम्रो जस्तो बहुआयामिक सम्बन्धमा अझ जरुरी रहेको उनको भनाई थियो ।
प्रतिक्रिया