काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् ।
राष्ट्रिय शहीद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान शहीदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताएका हुन् ।
उनले शहीदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे ।
उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शुङ्खला अन्त्य भएको पनि बताए ।
उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको जनाए ।
उनले भने, ‘हामीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो । यदि व्यवस्थामा वा शासकहरुमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैछ । देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ । हामी शहीदले देखाएको मार्गमा सँधै अविचलित रहनेछौँ ।’
सोही कार्यक्रममा गृहमन्त्री रमेश लेखकले शहीदहरुको सपना पूरा गर्नु सबैको कर्तव्य भएको भन्दै शहीदहरुले देखाएको बाटोमा अगाडि बढ्दै सुशासन, समृद्धि र स्थायित्वको मार्गलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताए ।
उनले भने, ‘वीर शहीदहरु प्रति उच्च सम्मान प्रकट गर्दै भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । देशको राजनीतिक सामाजिक तथा आर्थिक रुपान्तरणमा शहीदहरुको योगदान अमूल्य छ । लोकतान्त्रिक अधिकार प्राप्त गर्ने यात्रामा हामीले धेरै कठिन मोडहरु प्राप्त गरेका छौ । निरङ्कुश शासन व्यवस्थाको अन्त्य गर्छै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आईपुग्दा धेरै शहीदहरुले आफ्नो बलिदान दिनु भएको छ । उहाँहरुको सपना पूरा गर्नु हाम्रो कर्तव्य तसर्थ उहाँहरुले देखाएको बाटोमा अगाडि बढ्दै सुशासन, समृद्धि र स्थायित्वको मार्गलाई सुधार गर्दै जानु हामी सबैको कर्तव्य हो ।’
कार्यक्रममा प्रतिनिधिसभाका उप्रधानमन्त्रीहरु, मन्त्रीगण, प्रतिनिधिसभाका उपसभामुख, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरु र विशष्ट व्यत्तिहरुको उपस्थिति थियो ।
यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद स्मारक र शहीदगेटमा पुगेर शहीदप्रति सम्मान प्रकट गर्नुभएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद्) को मङ्गलबारको बैठकले यस दिवसलाई राष्ट्रियस्तरमा मनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया