Logo

अर्थनीति

बंगलादेश उवासंघ र ढाका चेम्बरसँग नेपाली पक्षको छलफल, लगानीको आग्रह


gdpnepal
   १७ माघ २०८१, बिहिबार


ढाका । नेपालले बंगलादेश उद्योग वाणिज्य संघ र ढाका चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग व्यापार तथा लगानी अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।

नेपाल र बंगलादेशबीच व्यापार तथा लगानी सम्बन्ध विस्तार विषयक कार्यक्रम बुधबार ढाकास्थित नेपाली दूतावासको आयोजनामा भएको हो ।

कार्यक्रमको शुभारम्भमा राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीच बढ्दो आर्थिक सहकार्यको चर्चा गरे । उनले व्यापार, सम्पर्क, ऊर्जा तथा पर्यटन लगायतका क्षेत्रमा हासिल प्रगतिबारे प्रकाश पारे ।

नेपालबाट बंगलादेशतर्फ पहिलोपटक ४० मेगावाट जलविद्युत् आपूर्ति शुरू भएको उल्लेख गर्दै उहाँले ऊर्जा सहकार्यले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसियालाई समेत लाभ पुर्याउने उनको भनाइ छ ।

साथै, बंगलादेशी व्यवसायीहरूलाई नेपालको व्यावसायिक समुदायसँग सहकार्य गर्दै नेपालमा उपलब्ध लगानी अवसरको उपयोग गर्न उनले आग्रह गरे ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालका लगानी वातावरण, अवसरहरू र प्राथमिकता क्षेत्रहरूको बारेमा विस्तृत प्रस्तुति दिए ।

प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारले लिएका रणनीतिक पहलहरूबारे चर्चा गर्दै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा प्रविधि, सहरी पूर्वाधार, स्वास्थ्य, उत्पादन, खनिज तथा खानी लगायतका प्राथमिकता क्षेत्रहरूमा लगानी अवसरहरू रहेको उनले उल्लेख गरे ।

बंगलादेश लगानी विकास प्राधिकरण (बीआइडीए) का कार्यकारी सदस्य डा. खन्दोकर अजीजुल इस्लामले बंगलादेशका लगानी प्राथमिकताहरूबारे जानकारी गराउँदै नेपालसँग पारस्परिक रूपमा लाभदायक लगानी सम्बन्ध सुदृढ गर्न प्रतिबद्धता व्यक्त गरे ।

नेशनल बैंक लिमिटेडका अध्यक्ष तथा बंगलादेश वाणिज्य तथा उद्योग महासंघ एफबीसीसीआईपी) का पूर्व अध्यक्ष अब्दुल अवाल मिन्टुले नेपालमा व्यापार विस्तार गर्ने आफ्ना दृष्टिकोण साझा गर्दै दुई देशबीच आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको औंल्याए ।

कार्यक्रमको अन्तक्र्रिया सत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र राजदूत घनश्याम भण्डारीले सहभागीहरूको जिज्ञासाहरूको जवाफ दिए ।

प्रकाशित : १७ माघ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह