काठमाडौं । चालू आर्थिक वर्ष (२०७६/७७) को पहिलो दुई महिनामै मुलुकबाट ३ अर्ब ६१ करोड रुपैयाँको पाम आयल निकासी भएको छ । नेपालमा उत्पादनै नहुने पाम आयल यसरी निकासी हुँदा मुलुकको निकासी व्यापारलाई केही राहत देखिए पनि यसले नेपाल तस्करीको हब बन्ने खतरा देखिएको छ ।
पछिल्लो वर्ष नेपालबाट निकासी हुने प्रमुख वस्तुका रूपमा पाम आयल देखिएको छ । पाम आयलको भन्सार महसुल नेपालमा १० प्रतिशत छ भने भारतमा ४० प्रतिशत छ । महसुलको भिन्नताका कारण व्यापारीले मलेसिया र इण्डोनेसियाबाट पाम आयल आयात गरी भारतमा निकासी गरिरहेका छन् ।
यसरी नेपालका केही व्यापारीले करअन्तरका कारण पाम आयलबाट केही आम्दानी गरिरहे पनि यो दिगो व्यवसाय होइन र यसले नेपालको छवि नै धुमिल हुने देखिन्छ । तर, सुशासन र स्वच्छ व्यवसायको वकालत गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो तस्करीप्रति आँखा चिम्लनुचाहिँ साँच्चै नै गम्भीर विषय हो ।
भारतीय व्यवसायीले इण्डोनेसिया र मलेसियाबाट आयात गर्दा धेरै भन्सार महसुल लाग्ने भएकाले नेपाल हुँदै पाम आयल भारत पु¥याइने गरेको छ । मूलतः साबुनको कच्चा वस्तुका रूपमा पाम आयल प्रयोग हुँदै आएको छ ।
विगतमा पनि मुसुरोका दाल, वनस्पति घ्यु लगायतका वस्तु यसैगरी भारततर्फ निकासी हुने गर्दा भारतले आयातमा प्रतिबन्ध नै लगाएको थियो । पाम आयलले पनि ढिलोचाँडो यसको नियति भोग्नैपर्नेछ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले पाम आयलले यस वर्षका सुरुवातदेखि नै प्रमुख निकासी वस्तु कार्पेट, अलैंची, गार्मेन्ट तथा हस्तकलाका सामानलाई पछि पारेको छ ।
यद्यपि, पाम आयललाई बिर्सने हो भने पनि मुलुकको वैदेशिक व्यापार केही सन्तुलित हुँदै गएको देखिन्छ । आयात अघिल्लो वर्षको तुलनामा १.२२ प्रतिशतले घटेको छ भने निर्यात बढेको छ ।
प्रतिक्रिया