काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको पहिलो छ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्यो । जसमा उल्लेख भएका तथ्यांकहरुलाई केलाएर हेर्दा वैदेशिक व्यापार र विप्रेषण आप्रवाहबीचको ‘रिभर्स रिलेसन’ प्रष्टसँग देखिन्छ ।
अर्थात, वैदेशिक व्यापार बढ्दै जाँदा रेमिट्यान्स आप्रवाहको वृद्धिदर स्वात्तै घट्न थालिसकेको छ ।
पुस मसान्तसम्म कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ । यस्तै, ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८२२ अर्ब ३७ करोड पुगेको छ ।
अघिल्लो वर्षको छ महिना अवधिमा निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो भने आयातमा ३.१ प्रतिशतले कमी आएको थियो ।
यही अवधिको विप्रेषण आप्रवाह हेरौंः समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७६३ अर्ब ८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।
यतिमात्र हैन, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।
यसरी हेर्दा वैदेशिक व्यापार यही अनुपातमा बढिरह्यो भने विप्रेषण आप्रवाहको वृद्धिदर सातौं महिनामा नकारात्मक हुने देखिन्छ । जसको सिधा असर मुलुकको विदेशी मुद्रा सञ्चितिमा पर्नेछ ।
विगतदेखि नै नेपालको वैदेशिक व्यापार बढ्दै जाँदा रेमिट्यान्स आप्रवाहमा चाप पर्ने र यसले कतिपय समयमा चुनौती नै देखा पर्ने गरेको भए पनि त्यसलाई नियामकीय क्षेत्रले गम्भीरतापूर्वक लिएको देखिँदैन ।
आयातमा न्यून बिजकीकरण गर्ने र हुन्डीमार्फत भुक्तानी गर्ने प्रवृत्ति विगतमा रहेको कतिपय व्यवसायीले नै स्वीकार गर्ने गरेका छन् । जसले एकातर्फ राजस्वमा कमी आउने र अर्कोतर्फ विदेशी मुद्रा सञ्चितिमा असर पार्ने मात्र नभै अवैध र अनौपचारिक अर्थतन्त्र फस्टाउने गरेको छ ।
प्रतिक्रिया