काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त हुने दिन नजिकिँदै गर्दा यस पदका आकांक्षीहरुको दौडधूप बढेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिलाई पूर्णता दिएसँगै उनीहरुको दौड बढेको हो । समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल सदस्य रहेका छन् ।
समिति गठन औपचारिकतामात्र भए पनि गभर्नर कसलाई बनाउने भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सहमतिले मात्र गभर्नरको अन्तिम टुंगो लाग्नेछ ।
केन्द्रीय बैंकको नेतृत्वका लागि सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमाले निकट अर्थशास्त्री, बैंकर तथा वित्तीय क्षेत्रका अनुभवीहरुबीच दौडधूप चलिरहँदा विभिन्न शक्तिकेन्द्रहरुले पनि स्वार्थअनुसारका नाम बाहिर ल्याउन थालेका छन् ।
गभर्नरका लागि आकांक्षी रहेका बैंकर ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरेर आफ्नो बलियो दावेदारी प्रस्तुत गरिसकेका छन् ।
गभर्नर कांग्रेसको सिफारिसमा बनाउने अवस्था सिर्जना हुनुमा विद्युत् प्राधिकरणमा एमालेको सिफारिसमा प्रबन्ध निर्देशक नियुक्त हुनुले पनि बल पुगेको छ ।
कांग्रेस संस्थापन पक्षले गभर्नरका लागि ज्ञानेन्द्र ढुंगानालाई अघि सार्ने भएको छ । परराष्ट्रमन्त्री डा. आरजु देउवा तथा प्रवक्ता डा. प्रकाशशरण महत ढुंगानाको पक्षमा दृढतापूर्वक उभिएपछि सभापति देउवा ढुंगानाप्रति सकारात्मक रहेको बताइएको छ ।
कांग्रेस निकटको सूचीका रुमपा प्रचारित गुणाकर भट्ट, समीर खतिवडा तथा रविन्द्र पाण्डेभन्दा पार्टी संस्थापन पक्षको रुचि ढुंगानाप्रति रहेका कारण उनी गभर्नर बन्ने सम्भावना सबैभन्दा बढी रहेको छ ।
दशकभन्दा बढी वाणिज्य बैंकको नेतृत्व गरिसकेका अनुभवी ढुंगाना क्षमतावानसँगै समन्वयकारीसमेत रहेको र उनलाई गभर्नर बनाइएको अवस्थामा निजी क्षेत्रले पनि स्वागत गर्ने भएकाले अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीले पनि स्वीकार गर्ने अवस्था छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले गभर्नर पाउने अवस्थामा भने निलम ढुंगाना नै गभर्नर बन्नसक्ने बताइएको छ । प्रधानमन्त्री ओलीले ढुंगानालाई पहिलो महिला गभर्नर बनाएर जस लिनसक्ने तथा झापाकै हुनुको कारणले अतिरिक्त लाभ पनि उनलाई रहेको छ ।
प्रतिक्रिया